आफ्नो खातामा पर्याप्त रकम नभएको थाहा हुँदाहुँदै चेक दिएर बेपत्ता भएका एक व्यक्ति गोरखाबाट पक्राउ परेका छन्। धादिङको सिद्धलेख गाउँपालिका घर भई हाल गोरखा नगरपालिका–६ हरमटारी बस्ने दिपेश मगरलाई प्रहरीले आफ्नो बैंक खातामा पर्याप्त रकम नरहेको भन्ने थाहा हुँदाहुँदै चेक दिएर ठगी गरेको आरोपमा पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार, मगरले धादिङको गजुरी गाउँपालिका–२ का ३८ वर्षीय बसन्ता कंडेलसंग २१ लाख २० हजार नगद सापटी लिएका थिए । सापटी रकम फिर्ताका लागी भन्दै मगरले कडेललाई आफ्नो नाममा खाता भएको मेघा बैंक लिमिटेड गोरखा शाखाको चेक दिएका थिए । उक्त चेक सटही गर्न जाँदा खातामा पर्याप्त रकम नभएपछि कंडेलले मगरलाई कारबाहीको माग राखेर जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी दिएकी थिइन् ।
कंडेलले दिएको जाहेरीका आधारमा मगरलाई सोमवार गोरखा नगरपालिका–६ हरमटारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।
पक्राउ परेको मगरलाई बैकिङ कसूर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रविन्द्र अधिकारीले बताए ।