चितवनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएका व्यक्तिले हातमा लगाएको सुनको ब्रासलेट चोरी गर्ने सुरक्षागार्ड पक्राउ परेका छन् ।
गत पुस १७ गते नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत पर्ने भरतपुर महानगरपालिका वडा नं. २९ केरावारीमा भएको दुर्घटनामा मृत्यु भएका युवकको हातमा लगाएको ब्रासलेट चोरी गरेको आरोपमा अस्पतालका सुरक्षा गार्ड खोटाङको ऐसेलुखर्क–५ का २७ वर्षीय कृष्ण राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।
मृतकको शव आकस्मिक कक्ष नजिकै रहेको कोठामा राखिएको बेला हातमा लगाएको ब्रासलेट राईले चोरी गरेको प्रहरीले जनाएको छ । मृतकका परिवारले मृतकले हातमा लगाएको ब्रासलेट र पैसा हराएको जानकारी प्रहरीलाई गराएपछि उनको गतिविधि शंकास्पद मानेर अनुसन्धान गर्दा चोरी भएको भनिएको ब्रासलेट राईको साथबाट बरामद भएको प्राप्त जानकारीमा उल्लेख छ ।
उनलाई चोरी कसुरमा चितवन जिल्ला अदालतबाट म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।
नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९ स्थित केराबारीमा यही पुस १७ गते ना ५६ ख ३३१२ नम्बरको ट्रकले बागमति प्रदेश ०३–००३ प ६५७४ नं.को मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक तनहुँको भानु नगरपालिका वडा नंं.२ घर भई हाल जिल्ला चितवन भरतपुर– १ बस्ने वर्ष ३७ का सञ्जिव बहादुर रायमाझी घाईते भई भरतपुर अस्पतालमा उपचार गराउदा उनको उपचारको क्रममा मृत्यु भएको थियो । उनको शव अस्पतालकै आकस्मिक कक्ष नजिकै रहेको कोठामा राखेको बेला हात लगाएको सुनको ब्रासलेट चोरी भएको थियो ।