धनुषाको मुखियापट्टी मुसहरनिया ३ का ४० वर्षीय धानुक दासको हत्यामा नेपाल प्रहरीका एक जना हवल्दारको संलग्नता रहेको देखिएको छ। दासको हत्या आरोपमा उनकै जेठी श्रीमती र छोरालाई पक्राउ गरिए पछि उक्त हत्याकाण्डमा नेपाल प्रहरीका हवल्दारको संलग्नता रहेको देखिएको हो।
समाचार स्रोतका अनुसार, पुस ९ गते साँझ आफ्नै घरमा रहेको किराना पसलमा बसिरहेका बेला गोली हानेर हत्या गरिएका दासको हत्या गरेको आरोपमा प्रहरीले जेठी श्रीमती र उनको २० वर्षीय छोरालाई पक्राउ गरेको छ । हत्या आरोपमा आफूहरु पक्राउ परे पछि प्राह्रीलाई उनीहरुले आफूहरुको सम्पत्ति सम्बन्धि बिबाद रहेको र त्यही कारण गोली हानि हत्या गर्न लगाएको जानकारी दिएका थिए।
उनीहरुले गोली हान्ने शार्प शुटर खोज्ने जिम्मा संघीय प्रहरी इकाई कार्यालय जनकपुरधामको एमटी शाखामा कार्यरत आफ्नै ज्वाईं प्रहरी हवल्दार उदय दासले लिएको प्रहरीलाई बयान दिएका थिए। प्रहरीले उनीहरुको बयान पछि प्रहरी हवल्दार उदय दासलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रहरीले गोली हान्ने शार्प शुटरको बारेमा पत्ता लगाएको बताइएको छ।
प्रहरी हवल्दार दासले आफुले चाँजोपाँजो मिलाइदिएका दुइ जना शार्प शुटरहरु धनुषाकै जटहीका रञ्जित यादव र भारत विहार राज्यको खजुलीका आकाश भनिने सोनु मिश्रालाई हत्याका लागि सुपारी बापत पाँच लाख रुपियाँ दिने सहमति भएको र तीन लाख बुझिसकेको प्रहरी अधिकारीहरुसमक्ष बयान दिएका छन्।
प्रहरी हवल्दार दासको बयान पछि गोली हान्ने कार्यमा संलग्न दुवै जना शार्प शुटर रञ्जित यादव र आकाश भनिने सोनु मिश्रालाई
मंगलबार राति सीमावर्ती क्षेत्रबाट प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमाशंकरप्रसाद साह र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ ।
घरकै किराना पसलमा बसिरहेका दासमाथि यादव र मिश्राले पुस ९ गते साँझ अन्धाधुन्ध गोली हानेका थिए । गोली लागेर घाइते दासको उपचारका लागि जनकपुर पुर्याउन नपाउँदै मृत्यु भएको थियो ।
प्रदेश प्रहरी कार्यालयका एक अधिकारीले दिएको जानकारी अनुसार सुटर यादव र मिश्रालाई दासका छोरा प्रदीप दासले ५ लाख सुपारीको डिल गरेका थिए । उनीहरूले तीन लाख बुझिसकेको र दुई लाख दिन बाँकी रहेको बताइएको छ ।
प्रदीप मृतक दासको जेठी श्रीमतीतर्फका छोरा हुन् । सम्पत्तिकै विवादका कारण उनले हवलदार उदयको सहयोगमा सुटर खोजेर बुवा धानुकको हत्या गराएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।