ट्रयाक्टर दुर्घटना भएर दुई जना मृत्यु भएको भोलिपल्ट फेरी बझाङमा अटो दुर्घटनाग्रस्त भएको छ। बझाङको छबिसपाथिभेरा गाउपालिका–३ शान्तिकोटमा सोमबार ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो। उक्त दुर्घटना भएको भोलिपल्ट आज मंगलबार बझाङकै गोलाई नजिक ढाक्रेखोलामा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार, बझाङ सदरमुकाम चैनपुरबाट गोलाईतिर जाँदै गरेको अटो गोलाई नजिकै ढाक्रेखोलामा अगाडिको चक्का फुत्किएर दुर्घटना मा परेको स्थानीयले बताएका छन्। दुर्घटनामा चार जना घाइने भए पनि उनीहरूको परिचय खुल्न सकेको छैन।
यस अघि बझाङकै छबिसपाथिभेरा गाउपालिका–३ शान्तिकोट गोठालाचौकामा से २ त २३४३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा ट्रयाक्टर चालक छबिसपाथिभेरा–५ का मंगल धामी र सहचालक धनबहादुर ठगुन्ना रहेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
झोलुङ्गे पुलका सामान लिएर गएको उक्त ट्रयाक्टर उकालो सडक भएकाले पछाडि सर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।