बैतडीको पाटनमा गत शनिबार मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको हत्याको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
शिक्षक बिष्टको हत्या गरेको आरोपमा प्रहरीले कृष्ण माविमा कम्प्युटर डिप्लो अध्ययनरत पुर्चौडी नगरपालिकाकी विमला बोहरा र उनका श्रीमान् प्रजा बोहरालाई पक्राउ गरेको हो।
दुवै जनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भोला रावलले कृष्ण माविको छात्राबासमा बसेर अध्ययनरत युवती र उनका श्रीमानलाई पक्राउ गरिएको पुष्टि गरे ।
उनका अनुसार शिक्षक विष्ट पनि सोही छात्रावासको माथिल्लो तलामा बस्दै आएका थिए । ‘छात्राबासको माथिल्लो तलामा शिक्षक विष्ट र तल्लो तलामा भाइहरुसँगै बसेर पढ्दै आएकी युवती बस्ने गरेको देखिएको छ,’ एसएसपी रावलले भने, ‘घटना भएको दिन विष्टले ती युवतीलाई बोलाएका रहेछन् । सोही क्रममा विवाद हुँदा हत्या भएको खुलेको छ ।’
शिक्षक विष्ट पुस २ गते छात्राबासको पछाडि मृत अवस्थामा भेटिएका थिए । विष्टको हत्या भएको भन्दै घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै सोही दिनदेखि पाटनमा आन्दोलन जारी छ ।
बुधबार पाटन नगरपालिकामा तालाबन्दी गर्दै नगर क्षेत्रका विद्यालयसमेत बन्द गरिएका छन् । न्यायका लागि गठित संघर्ष समितिले बिहीबार जिल्लाभरका विद्यालय बन्द गरेर आन्दोलनमा सहयोग गर्न अपिल पनि गरेको छ । मृतकका परिवारले विष्टको शव पनि बुझेका छैनन् ।