काठमाडौंको टोखा नगरपालिका–१० स्थित मनोहर माविका प्रधानाध्यापक यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । प्रधानाध्यापक माधवप्रसाद भट्टराईलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले आज पक्राउ गरेको हो।
विद्यालयमा अध्ययनरत एक छात्राले आफूलाई प्रधानाध्यापक भट्टराईले भदौ ७ गते कार्यकक्षमा बोलाएर ढाड छुने, मुसार्नेलगायतका क्रियाकलाप गरेको भन्दै प्रहरी वृत्त, महाराजगञ्जमा किटानी जाहेरी दिएकी थिइन् । ‘शारीरिक सम्पर्कको अनुभव लिएको छ कि छैन, यौन सम्पर्क गर्ने उमेर हो भन्दै दुर्व्यवहार गर्ने गरेका छन्’, जाहेरीमा भनिएको छ ।
प्रधानाध्यापक भट्टराईविरुद्ध विद्यालयमा अध्ययनरत एकजना छात्राले उजुरी दिएकी थिइन् । छात्राले दिएको उजुरीका आधारमा उनीविरुद्ध ‘बालबालिका विरुद्धको कसुर’मा प्रहरीले मुद्दा दर्ता गरेको थियो । भट्टराईलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
प्रधानाध्यापक भट्टराईमाथि बालबालिका विरुद्धको कसुर–२०७५ को दफा ६६ अनुसार म्याद लिएर प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान शुरु गरेको छ ।
विद्यालयका एक जना छात्राका अनुसार प्रधानाध्यापक भट्टराईले पीडितलाई सकभर कोही नभएका बेला बोलाउने, अन्य कोही कार्यकक्षमा भए पहिले अरुलाई बाहिर पठाएर दुर्व्यवहार गर्ने गरेका थिए ।अहिले एकजनाले मात्र प्रहरी कहाँ जाहेरी दिए पनि कक्षा ८, ९ र १० का थप केही विद्यार्थी पनि भट्टराईबाट पीडित छन् । विद्यार्थीले प्रधानाध्यापकमाथि कारबाही गर्न माग राख्दै मंगलबार विद्यालयमा प्रदर्शनसमेत गरेका थिए ।