फेसबुकमा चिनजान भएका तीन बालिकालाई जन्मदिन मनाउन बाग्लुङ बजार बोलाएर वलात्कार गरेको आरोपमा पोखरामा बस्दै आएका तीन युवा पक्राउ परेका छन्।
धादिङ घर भएर पोखरा महानगरपालिका–८ बस्ने १९ वर्षीय सन्दीप तामाङ, गुल्मी घर भएर पोखरा–१७ बस्ने १९ वर्षीय राहुल थापा र बागलुङको गलकोट घर भएर पोखरा–८ सिर्जनाचोक बस्दै आएका २५ वर्षीय अशोक दर्लामीलाई फेसबुकमा चिनजान भएका तीन बालिकालाई जन्मदिन मनाउन बाग्लुङ बजार बोलाएर वलात्कार गरेको आरोपमा पक्राउ गरेको हो।
उनीहरुले फेसबुकमा चिनजान भएका एक जना १६ र दुई जना १५ वर्षका बालिकालाई जन्मदिन मनाउन भन्दै बाग्लुङ बजार बोलाएर होटलमा लगि वलात्कार गरेर भागेको प्रहरीको दाबी छ। भागेका सन्दीप र राहुललाई प्रहरीले बागलुङ बजार र अशोकलाई काठेखोला गाउँपालिकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी गंगाबहादुर थापाले जानकारी दिए ।
२३ गते साथीको जन्मदिन मनाउन भन्दै घरबाट निस्किएका उनीहरु नफर्किएपछि परिवारले खोजी गर्दा २५ गते बागलुङ बजारको होटलमा फेला परेका थिए । प्रहरी र आफ्न्तको सोधपुछको क्रममा बालिकाहरु बलात्कारमा परेको खुलेको थियो ।
बालिकालाई पक्राउ परेकाहरुले नै जन्मदिन मनाउने भन्दै बोलाएको पाइएको प्रहरीले जनाएको छ । पीडित बालिकाको धौलागिरी अस्पताल बागलुङमा स्वास्थ्य परीक्षण गरिएको छ ।