धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीस्थित आहाले गाउँमा वृद्ध दम्पती मृत भेटिएका छन् ।
सोमबार बिहान आहाले गाउँका ७० वर्षीय विष्णुबहादुर आलेमगर र उनकी श्रीमती ६५ वर्षीय नीरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन्।
काठ र जस्ताको कच्ची घरमा बस्दै आएका उनीहरूलाई स्थानीयले बिहान करिब ८ बजे मृत अवस्थामा फेला पारेको त्रिपुरासुन्दरी–३ का वडाध्यक्ष कमल आलेमगरले बताए।
वडाध्यक्ष मगरका अनुसार विष्णुबहादुरको शव घरबाहिर खाटमा उत्तानो परेको अवस्थामा छ । निधार र दाहिने आँखामाथि चोट लागेको छ। शरीरमा कपडा ओडिराखेको अवस्थामा छ भने नीरमायाको शव घरभित्रै रहेको, बाहिरबाट काठको प्वालबाट हेर्दा खुट्टा मात्रै देखिएको र चोट लागेको ठाउँमा रगतका टाटा देखिएको छ ।
घटनास्थलमा प्रहरी टोली पुगेको छ । अनुसन्धानपछि मात्रै घटनाबारे वास्तविक कुरा पत्ता लाग्न जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले बताए।
मृत दम्पतीका एक छोरी र दुई छोरा छन्। छोरा काठमाडौंमा व्यवसाय गर्दै आएका र छोरीको विवाह भइसकेको स्थानीयले बताए।