तनहुँको दुलेगौंडास्थित रिमाल अटो केयरमा कार्यरत एक मजदुरको आफ्नै साथीले हत्या गरेका छन्। देवघाट गाउँपालिका–२ क्वादी घर भई हाल दुलेगौंडास्थित रिमाल अटो केयरमा कार्यरत २४ वर्षीया विरम आलेलाई सोही अटो केयरमा कार्यरत अर्का मजदुरले हत्या गरेका हुन्।
अटो केयरमा काम गरिरहेको अवस्थामा सर्लाही गौरीशंकर नगरपालिका–५ वगरवा घर भई हाल दुलेगौंडा बस्दै आएका २५ वर्षीय नवीनकुमार चौधरीले पछाडिबाट रडले आलेको टाउको समेतको भागमा हिर्काइ घाइते बनाएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।
घाइते आलेलाई तनहुँ सेवा अस्पताल दुलेगौंडामा सामान्य उपचारपश्चात थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको खड्काले बताए । “दुवै जना एकै ठाउँमा काम गर्ने हुन्, के कारणले हत्या गरियो भन्ने बारेमा हामी अनुसन्धान गदैर्छौ,” प्रनाउ खड्काले भने । उक्त घटनामा संलग्न रहेका चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।