बागलुङमा एक महिलाको हत्या भएको छ । बागलुङ नगरपालिका वडा नम्बर– १, खनियाबासकी ४० वर्षीया फुलमाया माझीको शनिबार साँझ हत्या भएको प्रहरीले जनाएको छ ।
माझी शनिबार दिउसो किनमेलका लागि बागलुङ बजारमा आएको र साँझसम्म घर नफर्किएपछि परिवारले खोजी गर्दा बागलुङ पोखरा राजमार्ग अन्तरगत बागलुङ नगरपालीका–१ को गणेशघुम्ती नजिकैको भीरमुनि सडक छेउमा शनिबार साँझ ९ बजे उनको शव भेटिएको परिवारलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगा थापाले जानकारी दिए।
शवको प्रकृति हेर्दा मृतकका कानमा रहेका गरगहना चुडालिएको देखिएकाले लुटपाट पछि हत्या गरिएको हुनसक्ने बागलुङ नगरपालिका-१ का वडा अध्यक्ष जय बहादुर केसीले अनुमान गरे। यद्यपि घटनाको थप विवरण भने पोस्टमार्टम रिपोर्ट पछि आउने धौलागिरी अस्पतालले जनाएको छ ।
घटनाको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट सादा पोसाकमा समेत प्रहरी खटिई अनुसन्धान गरिरहेको डिएसपी थापाले बताए । शवलाई धौलागिरी प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि राखिएको र घटनाको सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतक माझीका श्रीमान, १ छोरा र ३ छोरी रहेका छन् ।