जंगली जनावर बँदेललाई मार्न थापेको पासोमा परेर एक जनाको मृत्यु भए पछि कञ्चनपुरबाट सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
कञ्चनपुरको कृष्णपुर नगरपालिका १ कुञ्जाकल्लीका ४९ वर्षीय वीर बहादुर डगौराको बदेल मार्न थापेको पासोमा परेर मृत्यु भए पछि सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, आइतबार दिउँसो पहरीया बजार हिँडेका डगौरा घर नफर्किएपछि खोजी गर्ने क्रममा मंगलबार बन्दानदी किनारमा उनको शव फेला परेको थियो ।
प्रारम्भिक अनुसन्धानको क्रममा सोही ठाउँस्थित खेतमा बदेल मार्न थापेको करेन्टको पासोमा परेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। ५० वर्षीय ज्योती बुढाले आफ्नो खेतमा बदेल रोक्नका लागि छोडेको करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीको भनाई छ। बँदेललाई थापेलो करेन्ट लागेर डगौराको मृत्यु भएपछि त्यस शबलाई नदी किनारमा लगेर फालेको खुले पछि त्यस कार्यमा संलग्न बुढा लगायत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।