कास्कीको उत्तर पश्चिममा रहेको पर्यटकीय गन्तव्य मर्दी पदयात्रालाई चिनाउने पर्यटन व्यवसायी सुदीप गौतमको भीरबाट लडेर मृत्यु भएको छ ।
मर्दी पदयात्राको हाइक्याम्पमा शुक्रबार साँझ ६ बजे पानीको पाइप मर्मत गर्ने क्रममा चिप्लिएर भीरबाट लडेर ३५ वर्षको उमेरमा गौतमको मृत्यु भएको माछापुच्छ«े गाउँपालिका वडा नं ९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए । गौतम हाईक्यम्प भन्दा अन्दाजी ३० मिनेट टाढा भीरबाट अन्दाजी ५१ मीटर तल खसेको बताइन्छ । उनलाई तत्काल उद्धार गरेर उअचारका लागि पोखरा ल्याउदै गर्दा उनको मृत्यु भएको प्राप्त जानकारीमा उल्लेख छ।

हाइक्याम्पमा होटल व्यवसाय सञ्चालन गर्दै आएका गौतम अर्को एक जना साथीसँग पानी मर्मत गर्न गएका बताइएको छ। गौतमको टाउकोमा चोट लागेको थियो ।

मर्दी हिमाल पर्यटन पदमार्ग व्यवस्थापन समितिका संस्थापक अध्यक्ष समेत रहेका गौतमको शवलाई शनिबार बिहान हेलिकप्टरबाट पोखरा ल्याइ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोस्टमार्टम पछि अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गौतमको शवमा फूलमाला चढाएर अन्त्येष्टि गरिएको थियो ।

मर्दी हिमाल पदयात्राको प्रबर्धन गर्न महत्वपूर्न भूमिका खेलेका सफल पर्यटन व्यवसायी गौतमकै योगदान स्वरुप मर्दी पदयात्राले अहिले विश्वभर चर्चा कमाएको छ । गौतमको जन्म माछापुच्छ्रे गाउँपालिका वडा नं ९ सिदिङमा भएको थियो।
विभिन्न सामाजिक क्षेत्रमा समेत सक्रिय गौतम नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य समेत थिए । गौतमको परिवारमा बुबा, आमा, श्रीमति एक छोरी र एक छोरा छन् ।