दुई थान भरुवा बन्दुकसहित लमजुङबाट एक युवा पक्राउ परेका छन्।
क्व्होलासोंथर गाउँपालिका–८, घाम्राङका २७ वर्षीय यमबहादुर रानामगरलाई प्रहरीले दुई थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो।
हाल क्व्होलासोंथर गाउँपालिका–९, साल्मे बस्दै आएका उनको घरबाट प्रहरीले एउटा लोड गरेको र अर्को बनाएर अन्तिम चरणमा पुगेको भरुवा बन्दुक फेला पारेको डीएसपी प्रकाश श्रीमलले बताए ।
स्थानीय बासिन्दालाई धाक धम्कि दिने गरेको र भरुवा बन्दुक लुकाइछिपाइ राखेको सुचनाका आधारमा उनको घरमा छापा मार्दा उक्त दुई थान भरुवा बन्दुक बरामद भएको डिएसपी श्रीमलले जानकारी दिए।
मंगलबार पक्राउ परेका उनलाई बुधबार जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक जगदिश रेग्मीले बताए । उनका अनुसार रानामगरको साथबाट भरुवा बन्दुक अनलोड अवस्थामा भेटिएकोबाट १८।५ ग्राम बराबरको ९ वटा छर्रा, कालो बारुद ४।९ ग्राम र कपडाको गज २ थान बरामद गरिएको छ ।
अभियुक्त रानामगरबिरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी कसुर सम्बन्धि मुद्दा चलाइने प्रहरीले बताएको छ।
डीएसपी श्रीमलले नजिकिँदो प्रतिनिधि तथा प्रदेश सभा चुनावलाई लक्षित गरी सुरक्षा व्यवस्थालाई चुस्त पार्न प्रहरी लागि परेको र अवैध हातहतियारको खोजी थालेको बताए ।