आफ्नो श्रीमानको घांटी छिनालेर हत्या गरेको आरोपमा बागलुङबाट दिदीबहिनी समातिएका छन्।
बागलुङ निसिखोला गाउँपालिका वडा नंम्बर ५ स्थित कामीडाँडाकी २२ बर्षीया कुमारी कामी र नातामा साली पर्ने १८ बर्षीया मनिषा बिकलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको हो।
उनीहरुले कामीडाँडाका २५ बर्षीया फर्से भन्ने तुल बहादुर बिकलाई निसिखोला गाउँपालिका वडा नंम्बर ४ कालीमाटीस्थित निसिखोलाको किनारमा लगेर बुधबार बिहान साँढे १० बजे खुकुरीले घाँटी काटेर छिनाली छाडेको आरोप प्रहरीले लगाएको छ। कुमारी फर्से भन्ने तुल बहादुर बिकको श्रीमती भएको प्रहरीको दाबी छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार खोलामा अड्किएको अवस्थामा शव फेला परे संँगै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खबर पाएसंगै जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी प्रमुख प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीको नेतृत्वमा पाँच प्रहरी निरीक्षकसहित ३२ जना प्रहरीको टोली घट्नास्थलतर्फ परिचालन भएको थियो ।
घट्ना अनुसन्धानको नेतृत्व गरेका बागलुङका प्रहरी उपरीक्षक दयानिधी ज्ञवालीले कुमारी कामीको भनाई उदृत गर्दै भने–‘पहिल्यैदेखि श्रीमतिसँग त्यति राम्रो सम्बन्ध रहेनछ तर घट्ना हुने रात शारीरिक सम्बन्ध राखेछन्, श्रीमानले रक्सी खाएको रहेछ, त्यसक्रममा अर्कै केटिको नाम लिएर बर्बराएछ, त्यसपछि ऊ हाफ पाईन्ट लगाएर सुत्छ, सुतेको बेलामा घन र चिर्पटो दाउराले हानेर बेहोस पारेछ ।’
‘घनले हानेपछि बेहोस हुन्छ, अनि चिर्पट दाउराले चार÷पाँच पटक हान्छ’ घट्ना बारे बताउँदै प्रहरी उपरीक्षक ज्ञवालीले भने–‘खुकुरीले आधा घाँटी रेट्छ, त्यसपछि डोकोमा हालेर लासलाई घरदेखि करिब २५ देखि ३० मिनेटको दुरीमा पुगिने निसीखोलामा लगेर फाल्छ ।’
प्रहरी उपरीक्षक ज्ञवालीका अनुसार खुकुरीले टाउको छिनाई घर नजिकै रहेको निसीखोलामा लगि लासलाई बगाईदिएको र त्यसमा सालीको सहयोग वा संलग्नता बारे पनि अनुसन्धान भईरहेको छ ।
साउन २५ गतेदेखि सम्पर्क बिहीन भएका बिकको टाउको नभएको सव भदौ १ गते निसीखोलामा भेटिएको थियो ।
पक्राउ परेका उनीहरुविरुद्ध कर्तव्य ज्यान सम्बन्धि कसुरमा सम्मानित बागलुङ जिल्ला अदालतबाट म्याद अनुमती लिइ थप अनुसन्धान गर्ने कार्य भइरहेको समेत प्रहरी प्रमुख ज्ञवालीले जानकारी दिए ।