सुनचाँदीको गरगहना चोरी गर्ने र बेच्न राख्ने दुवै जनालाई प्रहरीले बागलुङबाट पक्राउ गरेको छ।
बागलुङ निसिखोला गाउपालिका वडा नं.७ राजकुत बस्ने वर्ष ३१ को जित भन्ने बोम बहादुर घर्ती मगर र न्यु बलेवा एन्जल सुन चादी पसलका सञ्चालक बागलुङ नगरपालिका वडा नं.१२ बस्ने टेक बहादुर बि.क.लाई प्रहरीले सुन चोरी गर्ने र बेच्न राख्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो।
अभियुक्त बोम बहादुर घर्ती मगरले गएको असार २७ गते बिहान ११ बजेको समयमा ढोरपाटन नगरपालिका वडा नं.५ मस्ति निवासी ६८ वर्षीया हिरा कुमारी कुवरको घरबाट दुई तोला ५० लालको सुनको सिक्री एक थान, ३० लालको सुनको लकेट एक थान र नगद पन्ध्र हजार रुपियाँ चोरी गरेर भागेको प्रहरीले जानकारी दिएको छ।
उक्त चोरीको सुचना प्राप्त हुनासाथ प्रहरीले अनुसन्धान गर्दै जाँदा अभियुक्त बोम बहादुर घर्ती मगरलाई एक तोलाको सुनको सिक्री एक थान , ३.८८२ तोलाको चादीको लकेट एक थान, ०.४०१ तोलाको चादीको औठी एक थान, नगद साठी हजार रुपैया सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ। अभियुक्त बोम बहादुरले चोरी ल्याएका सुन-चाँदीका गरगहना आफ्नो पसलमा गालेर बिक्री वितरणका लागि राखेको अवस्थामा न्यु बलेवा एन्जल सुन चादी पसलबाट १.०४ तोलाको सुनको सिक्री सहित संचालक टेक बहादुर बि.क.लाई पक्राउ गरिएको प्रहरीले दाबी गरेको छ।
उनीहरुविरुद्ध जिल्ला अदालत बागलुङबाट चोरी सम्बन्धी कसुरमा पांच दिनको म्याद थप भै अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।