मोरङमा शुक्रबार राति एक महिलाको आगो लगाएर हत्या गरिएको छ ।
मोरङको रंगेली नगरपालिका वडा नं १ बिर्ताबजार कि ३१ वर्षीया बबिता मल्लिकको शुक्रबार राति करिब १० बजे मट्टितेल छर्की आगो लगाई हत्या गरिएको हो।
घर जलेको खबर पाएपछि आगो निभाउन पुगेको प्रहरीले बबिता मल्लिकलाई गम्भीर घाइते अवस्थामा भेट्टाए पछि उपचारार्थ कोशी अस्पतालमा पुर्याइएकोमा सोही अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । आगलागीबाट उनीहरुको घर पनि जलेको बताइएको छ।
प्रहरीले बबिताको हत्या गरेको आरोपमा उनका श्रीमान तिलक मल्लिकलाई पक्राउ गरेको छ । शुक्रबार राति घरायसी विवादमा तिलकले श्रीमती बबितालाई मट्टितेल छर्केर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको डिएसपी श्रेष्ठले बताए । बबिताका श्रीमानमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।