रूपन्देहीको तिलोत्तमा नगरपालिका ३ शंकरनगरस्थित बिगचेयर होटलमा एक युवाले ज्यान गुमाएको घटना सेलाउन नपाउँदै शुक्रबार भैरहवास्थित होटल पौवाको स्विमिङ पुलमा डुबेर अर्को एक युवाको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार होटल पौवाद्वारा सञ्चालित स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको हो। शुक्रबार दिउँसो साथीहरूसँग स्विमिङ गर्न गएका तुलाधर सवा पाँच बजेतिर पोखरीमा डुबेका थिए।
स्विमिङ पुलमा डुबेका उनलाई तत्काल उद्धार गरी अस्पताल लगिए पनि उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले जानाकारी दिए।
सिद्धार्थनगर नगरपालिकाको स्वामित्वमा रहेको उक्त जग्गा शुभ ओम इन्भेष्टमेन्ट कम्पनी प्रालिले लिजमा लिएर स्विमिङ पुलसहितको होटल सञ्चालन गर्दै आएको छ।
यसअघि तिलोत्तमा १ शंकरनगर गत मंगलबार तिलोत्तमास्थित बिगचियर रिसोर्टको स्विमिङ पुलमा गएका एक निजी बोर्डिङ स्कुलमा अध्यापन गर्दै आएका शिक्षक तिलोत्तमा १ शंकरनगर निवासी सन्दिप पौडेलको डुबेर मृत्यु भएको थियो।