काठमाण्डौको कालिकास्थान स्थित ट्रिनिटी कलेजमा अध्ययनरत १८ वर्ष उमेरका चार जना बिद्यार्थी पक्राउ परेका छन।
सोही कलेजमा कार्यरत सुरक्षा गार्डलाई धारिलो हतियार खुकुरी हानेर घाइते बनाएको आरोपमा सोही कलेजका मानविकी संकायमा कक्षा ११ मा अध्ययनरत चार जना विद्यार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
हाल महानगरीय प्रहरी बृत्त सिंहदरबारको हिरासतमा रहेका बिद्यार्थीहरुमा म्याग्दीको बेनी नगरपालिका वीरमुनी घर भई हाल जिल्ला काठमाण्डौ तारकेश्वर नगरपालिका बानियाटार वस्ने बर्ष १८ को जोसेन बानियाँ, रामेछापको मन्थली नगरपालिका घर भई हाल काठमाण्डौ २९ डिल्ली बजार बस्ने वर्ष १८ को बिपिन खत्री, ओखलढुङ्गाको मानेभञ्याङ्ग गाउपालिका वडा नं. ६ घर भई हाल काठमाण्डौ २९ घट्टेकुलो बस्ने वर्ष १८ को प्रतिक खतिवडा र काठमाण्डौ टोखा नगरपालिका वडा नं. ६ ढलमल वस्ने वर्ष १८ को अनमोल भन्ने सञ्जिब भण्डारी रहेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका चार जना मध्ये जोसें बानियाँ धारिलो हतियार प्रहार गर्ने व्यक्ति रहेको प्रहरीको दाबी छ।
प्रहरीका अनुसार, करिब १० दिन अगाडी कलेज प्राङ्गणमा आयोजित बास्केटवल खेल खेल्ने क्रममा बिबाद भै दुई पक्षबीच झै-झगडा हुन लागेपछि सुरक्षा गार्डले छुट्टाउने प्रयास गरेका थिए। तर उनीहरुले उल्टै सुरक्षा गार्डलाई खुकुरी हानेर भागेका थिए। खुकुरी प्रहारबाट घाइते भएका सुरक्षा गार्डको मोडेल अस्पतालमा उपचार गरी घर फर्किसकेका छन्। उनको बायाँ कान मुनि चोट लागेको प्रहरीले जानकारी दिएको छ।