भक्तपुरको मध्यपुर थिमी नगरपलिका–८ बोडे निवासी कल्याण साहुको हत्या भएको छ। ५१ वर्षीय साहुको शब आइतबार बिहान बोडेस्थित लर्ड बुद्ध स्कुल अगाडि जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजु पाण्डेले जानकारी दिए ।
घटनास्थलमा फेला परेको काठको फर्मामा रगत देखिएको डिएसपी पाण्डेले बताए । काठको फर्माले हिर्काएर साहुको हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।मृतकको शव पोष्टमार्टमका लागि दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा राखिएको छ ।
प्रहरीले घटनामा संलग्न भएको अभियोगमा एक महिलासहित चारजनालाई पक्राउ गरेको छ । तर, उनीहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । पक्राउ परेका चारैजनालाई महानगरीय प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।
अनुसन्धानकै प्रक्रियामा रहेकाले उनीहरूको नामावली सर्वजनिक नगरिएको प्रहरीको भनाइ छ । महिलाविरुद्ध दुर्व्यवहार गरेको विषय बढ्दै जाँदा झडप भएको र सोही झडप साहुको मृत्युको कारण भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी राजु पाण्डेले बताए ।
‘महिलाविरुद्ध भएको दुर्व्यवहारलाई लिएर दुई पक्षबीच विवाद भएको जस्तो देखिन्छ । विवाद बढ्दै जाँदा झडप हुन पुग्यो । यही क्रममा साहुको मृत्यु भएको देखिन्छ । घटनाको अनुसन्धान हुँदै छ ।”