भारतीय आधार कार्ड देखाएर क्यासिनोमा जुवा खेलिरहेका दुई जना नेपाली नागरिक काठमाण्डौस्थित वाल्डो क्यासिनोबाट पक्राउ परेका छन्।
सुनसरी स्थायी घर भएका ४६ वर्षका मदन कार्की र सर्लाही स्थायी घर भएका ३३ वर्षका वबिरमान भोलन भारतीय आधार कार्ड देखाएर क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा सोमबार राती साढे ११ बजे काठमाण्डौस्थित वाल्डो क्यासिनोबाट पक्राउ परेका हुन्।
गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरवारमार्गका प्रमुख, प्रहरी नायव उपरीक्षकको नेतृत्वमा परिचालित टोलीले सोमबार राती उनीहरुलाई उनीहरु काठमाडौंमा रहेको छायाँ कम्प्लेक्समा भएको होटल अलफ्टद्दारा संचालित वाल्डो क्यासिनोबाट पक्राउ गरेको हो।
उनीहरु जुवा खेलिरहेको एक सय १४ नम्बरको टेबुलमा प्रहरीले चेक जाँच गर्दा उनीहरुको साथबाट पहेलो रंगको ५० हजारको क्वाईन एक थान, कालो रंगको १० हजारको क्वाईन तीन थान, निलो रंगको पाँच पाँच हजारको क्वाइन दुई थान, निलो रंगको एक हजारको क्वाईन नौ थान, भारतीय नक्कली आधार कार्ड दुई थान, गरेर ९९ हजारको १५ जान क्वाईन बरामद गरेको प्रहरीले जानकारी दिएको छ।
उनीहरुलाई तत्काल पक्राउ गरी काठमाडौ जिल्ला सरकारी वकिल कार्यालय बबरमहलमार्फत जिल्ला प्रशासन कार्यालय ववरमहल काठमाडौबाट जुवा ऐनमा ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर टेकु काठमान्डौका प्रवक्ता दिनेश मैनालीले बताए । उनीहरुको साथवाट मानव शर्मा र विर भुटीया नामको भारतीय आधार कार्डसमेत फेला परेकाले भारतीय आधार कार्ड नक्कली हुन सक्ने भएकाले त्यस बारेमा पनि थप अनुसन्धान भइरहेको प्रहरी परिसरले जनाएको छ ।