भारतले दाबी गरेको नेपालको प्यारातालमा स्थानीय युवाहरुद्वारा नेपाली झण्डासहितको नि:शुल्क डुङ्गा सञ्चालन

भारतले दाबी गरेको नेपालको प्यारातालमा स्थानीय युवाहरुद्वारा नेपाली झण्डासहितको नि:शुल्क डुङ्गा सञ्चालन


  • जनसञ्चार डट कम समाचारदाता
  • शुक्रबार, २७ फाल्गुन २०७८
  • 7.2K
    Shares

प्यारातालामा नेपाली झण्डासहितको नि:शुल्क डुंगा संचालन

भारतले आफ्नो दाबी गर्दै आएको नेपाली भुमि कञ्चनपुरको पुनर्वास नगरपालिका स्थित प्यारातालमा स्थानीय युवाहरुले नेपाली झण्डासहितको नि:शुल्क डुङ्गा सञ्चालन शुरु गरेका छन्।

पुनर्वास नगरपालिका ५ का राम रोकाया, पुनर्वास ८ का ज्ञानसिंह हमाल, लक्ष्मण भुसाल र पुनर्वास ९ का बब्लु बस्नेतले बुधबारदेखि प्यारातालमा नेपाली झण्डासहितको नि:शुल्क डुङ्गा सञ्चालन शुरु गरेका हुन्।

तालमा आफ्नै लगानीमा काठको डुङ्गा निर्माण गरी पर्यटकहरुका लागि नेपालको झण्डा फहराउदै नि:शुल्क डुङ्गा सञ्चालन गरिएको उनीहरुले बताएका छन्।

पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई प्यारातालमा अवलोकनका लागि आकर्षण गर्न डुङ्गा सञ्चालन गरेको उनीहरुको दाबी छ।

स्मरण रहोस, भारतको दुधुवा नेसनल पार्कनजिकै रहेको नेपाली भूमिमा पर्ने प्याराताल कब्जामा लिन भारतले कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बीचफाँटाबाट १९६ नम्बरको सीमास्तम्भ वर्षौंदेखि गायब पारेको छभने अर्को १९५ नम्बरको सीमास्तम्भ ढलेको छ।

दुधुवा नेसनल पार्कनजिकै रहेको नेपाली भूमिमा पर्ने प्याराताल कब्जामा लिने नियतले भारतीयले सो क्षेत्रमा रहेका सीमास्तम्भमा खेलबाड गरेको स्थानीय बताउँछन्।

दुई लाख ५० हजार वर्ग मिटर क्षेत्रफल रहेको प्याराताललगायत वरपरको करिब दुई सय बिघा जमिन अतिक्रमण गर्न ‘भारतीयहरूले १९५ नम्बर पिलर ढालेको र १९६ नम्बर पिलर गायब पारेको’ वडाध्यक्ष नारायणप्रसाद जैसीले बताए।

‘पिलर भत्काएर जैविक विविधताले भरिएको प्याराताल भारतले कब्जा गर्न खोजिरहेको छ,’ उनले भने, ‘प्याराताललाई लिएर हरेक वर्ष भारतीय पक्षले नेपाली बस्तीमा आएर दुःख दिने गरेको छ।’

प्यारातालमा माछा मार्न पहिले जिल्ला विकास समिति कञ्चनपुरले ठेक्कामा दिँदै आए पनि पछिल्लो समय भारतीय सीमा सुरक्षाकर्मीले सो क्षेत्र ‘भारतीय भूमि’ रहेको दाबीसहित ठेक्का लगाउन रोक लगाउँदै आएका छन्। प्यारातालभन्दा करिब पाँच सय मिटर दक्षिणतर्फ १९५ र १९६ नम्बरको सीमास्तम्भ रहेको बताउँदै जैसीले भने, ‘सीमादेखि वरै नेपालतर्फ रहेको प्याराताल कसरी भारतले आफूहरूको भनिरहेको छ ? हामी आश्चर्यमा परेका छौं।’

प्रतिक्रिया
सम्बन्धित समाचार