सुनसरीको धरान उपमहानगरपालिका–१८ बुद्धचोकस्थित ‘न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउस’मा मृत भेटिएकी महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
उक्त होटलको कोठा नम्बर १०९ मा मृत भेटिएकी ३९ वर्षीया सुमित्रा तामाङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले धनकुटाको पाख्रिबास नगरपालिका ६ फलाटे घर भएका २४ वर्षका दिनेश राना मगरलाई पक्राउ गरेको हो। तामाङ मृत फेला परेको पाँच दिनपछि राना मगरलाई प्रहरीले छगर जोरपाटी गाउँपालिकास्थित उनको ससुरालीबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए।
दिनेश केही समय पहिले इटहरीमा सिटी सफारी चलाउने गर्थे। त्यसबेला तामाङसँग भेट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पछिल्लो समय दिनेश डोजरको सहचालक थिए। उनी भोजपुर बस्न थालेका थिए। यसबीचमा दिनेश र सुमित्राको सम्बन्धमा खटपट आएको हुन सक्ने प्रहरीको अनुमान छ।
गत मंगलबार धरानको एक होटलमा पाँचथर मिक्लाजुङ १ की ३९ वर्षीया तामाङ मृत फेला परेकी थिइन्। उनी केही वर्षदेखि इटहरी ५ तुलसा टोलमा बसोबास गर्दै आएकी थिइन्।