झापाको विर्तामोड स्थित स्वर्गीय टुंङगबहादुर बस्नेतको नाममा रहेको जग्गा अधिकृत वारेसनामा नै किर्ते बनाएर जग्गा बिक्री गर्ने गिरोह मध्येका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा मालपोतका अधिकृत चेतन अधिकारी र गौरादह नगरपालिका वडा नम्बर ७ का अध्यक्ष बलाराम खरेल पक्राउ परेका हुन् ।
उनीहरुले बस्नेतको नाममा रहेको कित्ता नं. ४१८३ को १ कठ्ठा १३.७५ धुर जग्गा हडपेका थिए । झापा प्रहरीका अनुसार सो जग्गा किर्ते गरेर विक्रि गर्ने मुख्य नाइके गौरीगञ्ज-१ कुन्जिबारीका बलराम विश्वकर्मा (सुसिल) लगायत १० जना यस अघि नै पक्राउ परिसकेका छन् ।
गत बैशाख ९ गते नै यस काण्डमा १० जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको थियो भने खरेल र अधिकारी भने त्यो बेला पक्राउ पर्न सकेका थिएनन् । उनीहरुलाई संगठित अपराध , सरकारी छाप किर्ते, ठगी लगायतका मुद्दामा म्याद थप गरि अनुसंधान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस अघि प्रहरीले बाह्रदशी–३ घर भई विर्तामोड –२ बस्दै आएका ३९ वर्षीय मंगलसिंह राजवंशी, नापीका पूर्व कर्मचारी एवा् नमस्ते होटल चन्द्रगडीका सञ्चालक भद्रपुर –७ का ५२ वर्षीय नविन कोइराला, जग्गा कारोवारी बाह्रदशी –५ का ५० वर्षीय लिलाधर राजवंशी, विधुत प्राधिकरण फिक्कलका कर्मचारी शिवसताक्षी –८ का भुपदेव कटुवाल , दोभान कन्स्ट्रक्सनका सञ्चालक विर्तामोड –४ का ४३ वर्षीय गोविन्द वान्तावा मिलन , विर्तामोड १० घर भई कोटिहोम बस्दै आएका ७१ वर्षीय देवी प्रसाद पाण्डे, विर्तामोड –४ कि ३३ वर्षीया रञ्जु राई र उर्लावारी– ४ का ४८ वर्षीय राजन विश्वकर्मा पक्राउ गरेको थिए । जस मध्ये केहि छुटेका छन भने केहि को पुर्पक्षमा राखेर अनुसन्धान भईरहेकोछ ।