तीन व्यापारिक साझेदारको हत्यामा संलग्न छ जनाविरुद्ध मुद्दा दर्ता

तीन व्यापारिक साझेदारको हत्यामा संलग्न छ जनाविरुद्ध मुद्दा दर्ता


  • जनसञ्चार डट कम समाचारदाता
  • मंगलबार, १७ फाल्गुन २०७८
  • 2.9K
    Shares

तीन जना व्यापारिक साझेदारको हत्यामा संलग्न रहेको आरोप लगाउदै प्रहरीले छ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको छ।

तीन जना व्यापारिक साझेदारहरु शम्भुकुमार चौधरी, जेन्द्रकुमार श्रेष्ठ र मोहन लिम्बूको हत्या गरेको आरोप लगाउदै जिल्ला प्रहरी कार्यालय मोरङले जिल्ला सरकारी वकिलको कार्यालय मोरङमार्फत जिल्ला अदालतमा उनीहरुका व्यापारिक साझेदार अनिल मण्डलसहित छ जना बिरुद्ध कर्तब्य ज्यान मुद्दा दर्ता गरेको हो।

जिल्ला सरकारी वकिल कार्यालय मोरङले प्रमुख व्यापारिक साझेदार भनिएका सिरहा नगरपालिका-२१ का ३१ वर्षीय अनिलकुमार मण्डल, मोरङको जहदा गाउँपालिका–४ का २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार र धनपालथान–७ का ६२ वर्षका नासिर आलम, रंगेली नगरपालिका–३ का ३३ वर्षका मोहमद सुभाम र सुनसरीको देवानगञ्ज गाउँपालिका–६ का १८ वर्षीय मोहमद हकिमविरुद्ध जिल्ला अदालतमा ज्यानसम्बन्धी मुद्दा दायर गरेको हो । अर्का एक आरोपी भने हाल फरार छन् ।

गत माघ १२ गते मोरङको धनपालथान गाउँपालिका– ७ मा रहेको उखुबारीमा गाडिएको अवस्थामा सप्तरीको शम्भुनाथ नागरपालिका–४ घर भई काठमाडौंमा बस्दै आएका ३२ वर्षका शम्भुकुमार चौधरी र १३ गते सुनसरीको धरान उपमहानगरपालिका–३ घर भई भक्तपुरमा बस्दै आएका ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको शव फेला परेको थियो ।

दुई जनाको शव भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीले ललितपुरको गोदावरी नगरपालिका–१२ थेचोस्थित एउटा घरको कम्पाउण्ड भित्र गाडेको अवस्थामा तेह्रथुमको संक्रान्ति–२ घर भई काठमाडौं महानगरपालिका–८ गोठाटारमा बस्दै आएका ६३ वर्षीय मोहन लिम्बूको शव फेला परेको थियो ।

मोरङ र ललितपुरको हत्या प्रकरणमा संलग्न एउटै गिरोह रहेको प्रहरीको भनाइ छ । मोहन लिम्बुको हत्या प्रकरणको अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय ललितपुरले नै मुद्दा चलाउनेछ । मोरङ जिल्ला अदालतले मोरङ घटनामा आदेश दिइसकेपछि प्रतिवादीहरुलाई ललितपुर उपस्थित गराइने प्रहरीले जनाएको छ ।सोमबार मुद्दा दर्ता भएपनि आरोपीको बयान बुधबार मात्रै लिइने जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । अदालतमा प्रतिवादीको बयानपछि थुनछेक बहस हुनेछ ।

नेपाल–बंगलादेश बैंकमा धितो राखिएको ललितपुरको हरिसिद्धिस्थित एक अस्पतालको नामको २५ रोपनी ७ आना जग्गा उकास्दा प्राप्त हुने तीन प्रतिशत कमिसनमा कुरा नमिल्दा अर्का साझेदार अनिलको योजनामा घटना गराइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार