अमेरिकाको सिकोगोबाट तीन दिन लामो हवाई जहाजको यात्रा गरेर सात वटा अमेरिकन साँढे शुक्रबार काठमाडौं आइपुगेका छन् ।
गाइको नस्ल सुधार तथा दूध विकासका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खरिद गरेको सात वटा अमेरिकन साँढे नेपाल आइपुगेका हुन् ।
अमेरिकाको सिकागोबाट फागुन ११ गते कतार एयरवेजमा नेपाल हिडेका ती साँढेलाई भारतको नयाँ दिल्लीबाट नेपाल एयरलाइन्सको जहाजले आज काठमान्डौ ल्याएको हो। शुक्रबार आइपुगेको साँढेहरु अहिले काठमाडौंमै आइसोलेसनमा राखिएको र केही दिनमा पोखरामा रहेको वीर्य उत्पादन केन्द्रमा पठाइने छ ।
१० देखि १२ महिना उमेरका यी साँढेहरुको कुल तौल दुई हजार तीन सय किलो छ । साँढेहरु नेपाल ल्याउन मिट ग्रुम नामक सप्लायर्सले ठेक्का पाएको थियो । सिकागोदेखि पोखरासम्म पुर्याउन कुल एक करोड ३० लाखमा सप्लायर्सले ठेक्का पाएको आयोजनाले जनाएको छ ।
नेपाल ल्याइएका साँढेहरु मध्ये दुई वटा शतप्रतिशत शुद्ध होलस्टन जातका हुन् भने पाँच वटा शतप्रतिशत शुद्ध जर्सी जातको भएको नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत डा. केशव भट्टले जानकारी दिए । दूधका लागि किसानले व्यवसायिक रुपमा पालेको गाइमा उन्नत जातको नस्ल सुधार गर्न यी साँढेहरु ल्याइएको भट्टले बताए । ‘राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखरामा यी साँढेमार्फत संकलन हुने वीर्य स्थानीय नेपाली गाईलाई क्रस गराउँदा ५० प्रतिशतसम्म गुण सर्छ, यसले हाम्रो गाईहरुको दुग्ध उत्पादन क्षमता बढ्छ,’ अनुगमन तथा मूल्यांकन अधिकृत डा. भट्टले भने । १८ देखि २१ महिनाका हुँदा वयस्क हुने यी साँढेबाट उत्पादन हुने वीर्य नस्ल सुधारका लागि उच्च कोटीको हुने राष्ट्रिय पशु प्रजनन कार्यालयले जनाएको छ ।
तात्कालिन श्री ३ जंगबहादुरले १९०७ मा पनि अमेरिकाबाट उन्नत साँढे ल्याएका थिए। त्यस पछि पहिलो पटक अमेरिकाबाट साँढे ल्याइएको आयोजनाको दाबी छ ।
।