सशस्त्र प्रहरीको टोलीले कैलालीमा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी नायब निरीक्षक अमृत कठायत नेतृत्वको गस्ती टोलीले आज बिहान साढे ४ बजेतिर कैलाली जिल्लाको कैलारी गाउँपालिका-५ छोटीपलियाबाट बन्दुकसहित तीन जनालाई पक्राउ गरेको हो ।
हाल जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका अभियुक्तहरुमा कैलारी गाउँपालिका-३ का ५३ वर्षीय लौटन चौधरी, ३५ वर्षीय वीरेन्द्र चौधरी र २१ वर्षीय सन्तराम चौधरी रहेका छन् ।
उनीहरुको साथबाट एक थान बाह्रबोर बन्दुक र बन्दुकमा प्रयोग हुने पाँच थान टोटा/कार्टिज र तीन थान मोबाइल बरामद भएको सशस्त्र प्रहरी बलको ३४ नम्बर गणले जनाएको छ ।
से २ प ८९२ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा हतियारसहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।