आफुलाई नेपाल प्रहरीको इन्स्पेक्टर भएको बताउदै बसको टिकट काउन्टरमा धम्क्याइरहेका एक जना युवालाई प्रहरीले नक्कली हतियारसहित सिराहाबाट पक्राउ गरेको छ।
सिरहा नगरपालिका वडा नम्बर ७ स्थित युवराज डिलक्सको बस काउण्टरमा प्रहरी हुँ भन्दै धम्क्याइरहेको अवस्थामा प्रहरीले झापाको गौरादह नगरपालिका वडा नम्बर १ बस्ने काठमाडौँ महानगरपालिका वडा नम्बर ४ स्थित मण्डिखाटार बस्दै आएका ३२ वर्षीय असीम गुरुङलाई शुक्रवार साँझ पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी अर्जुन प्रसाद तिमिल्सिनाको कमाण्डमा खटिएको प्रहरी टोलीले अभियुक्त गुरुङको साथबाट एक थान नक्कली रिभल्बर, रिभल्भर राख्ने एक थान होलस्टर सिराहा प्रहरी निरीक्षक असीम गुरुङ लेखिएको नेपाल प्रहरीको नक्कली परिचय पत्र,ड्याईगन चक्कु १ थान, सायरासैंगबो र असीम गुरुङ लेखिएको मेटल नेम प्लेट २ थान, मोबाईल २ थान, चेकबुक, एटिएम कार्ड, असीम गुरुङ नामको नेपाली नागरिकताको फोटोकपी, ३ हजार रुपैयाँ र एनसेलको ३ वटा सिम बरामद गरेको छ। त्यसको साथै अभियुक्त गुरुङले बोकेको झोलाबाट नाइट्रोभेट ३९ पिस ट्याब्लेट, स्पास्मो प्रोक्सिवन प्लस २२ पिस बरामद गरिएको सिराहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीले जानकारी दिए।
आरोपित गुरुङलाई सिराहा जिल्ला अदालतबाट लागुऔषध मुद्दामा पांच दिनको म्याद थप गरी थप अनुसन्धान थालिएको सिरहा प्रहरी प्रवक्ता बुढाथोकीले बताए ।