चर्चित युट्युबर चेतन कार्की अबैध लागू औषध खैरो हेरोइनसहित सिन्धुलीबाट पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका २६ सामाखुसीका ३७ वर्षीय चेतन कार्कीलाई शुक्रबार प्रहरीले सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ को खुर्कोटबाट अबैध लागू औषध खैरो हेरोइनसहित पक्राउ गरेको हो। कार्कीले चलाएको ०१–००३ क ९१८२ नम्बरको मिनी ट्रक जाँच गर्दा लागूऔषध फेला परेको थियो ।
चेतन व्लोग क्याम्पर स्टुडियो नामको युट्युबका संचालक कार्कीले लगाएको ट्र्याकसुटको दाहिने खल्तीबाट खैरो हेरोइन चार दशमलव एकसय ३० ग्राम बरामद भएको प्रहरी प्रवक्ता एवं डीएसपी मनोजकुमार लामाले जानकारी दिए ।
जाँचका क्रममा गाडीभित्र राखेको गीतारको कभरमा लुकाएर राखेको ६ दशमलव ९३० ग्राम गाँजासमेत प्रहरीले फेला पारेको छ । युट्युबर कार्कीलाई लागूऔषध मुद्दामा शुक्रबार सिन्धुली अदालतबाट ७ दिनको म्याद थपी अनुसन्धान थालिएको डीएसपी लामाले बताए ।
