आफुले खाना खाने होटलको साहुजीको हत्या गरेको आरोपमा प्रहरीले नेपालगन्जबाट एक युवालाई पक्राउ गरेको छ। पक्राउ परेका युवा कैलालीको घोडाघोडी नगरपालिका–४ जनकपुरमा ५५ बर्षिय पुरुष पदम आचार्यको हत्या गरेको आरोपमा दैलेखको गुराँस गाउँपालिका–३ का १८ बर्षिय जीवन शाही रहेका छन्।
अभियुक्त शाहीले गत आइतबार दिउँसो आफुले खान खाने होटलका साहुजी कैलालीको घोडाघोडी नगरपालिका–४ जनकपुरमा ५५ बर्षिय पदम आचार्यको हत्या गरेको आरोप प्रहरीले लगाएको छ।
घटना विवरण अनुसार, कात्तिक २० गते भाइटिकाको राती जीवन शाहीले आफै मासु पकाएर मृतक पदम आचार्यको पसलमा लगेका थिए। खाना खाने बेला उनले साहुजीसँग रहर नामक रक्सी मागेर पिए। पहिले पनि आचार्यले हेपेर बोल्ने गरेको बताउने शाहीलाई उक्त दिन पनि उस्तै व्यवहार गरे। आचार्यले हेपेर र होच्याएर बोलेका कारण ठकुरीलाई अत्यधिक आवेश आयो। विवादले कुटपिटसम्मको परिस्थिति निम्त्यायो। सोही विवादका क्रममा आचार्यले ठकुरीलाई २ लठ्ठी हिर्काएका थिए। त्यसपछि दुवैबीच हात हालाहाल भयो। रिस थाम्न नसकेर राति करिब १० बजे ठकुरीले अचार्यलाई रड प्रहार गरे। रड प्रहारपछि आचार्य त्यहीँ ढले। त्यसपछि जीवन शाही ठकुरीले बाँकी रहेको रक्सी खाए र आफू सुत्ने कोठा बाहिर सुते। बिहान करिब ५ बजे उनको निन्द्रा खुल्यो र उनी त्यहाँबाट फरार भइ नेपालगञ्ज पुगे।
कैलालीको माहन्याल गाउँपालिका–४ स्थित सिम्लि खोला नजिकै होटल व्यवसाय गर्दै आएका आचार्यले आफुलाई होच्याएर बोल्ने गरेको र २० गते राती होच्याएर बोल्नुका साथै लठ्ठीले हिर्काए पछि आवेगमा फलामे रडले हिर्काउँदा घटनास्थलमै मृत्यू भएको शाहीले प्रहरॆसमक्ष बयान दिएका छन्। होटल साहुजीको हत्या गरेर नेपालगन्ज भागेका शाहीलाई प्रहरीले त्यहीबाट पक्राउ गरेको जिल्ला प्रारी कार्यालय कैलालीले जानकारी दिएको छ।