विश्वकै लामो झोलुङ्गे पुलको नाम अब : ‘गण्डकी गोल्डेन ब्रिज’

विश्वकै लामो झोलुङ्गे पुलको नाम अब : ‘गण्डकी गोल्डेन ब्रिज’


  • जनसञ्चार डट कम समाचारदाता
  • बुधबार, २३ भाद्र २०७८
  • 7.1K
    Shares

बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्मित विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुलको नामाकरण गरिएको छ । उक्त पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ नामाकरण गरिएको छ ।

पुलको संरक्षणकर्ताको रुपमा रहेको बागलुङ नगरपालिकाको कार्यपालिकाको बैठकले पुलको नाम “गण्डकी गोल्डेन ब्रिज” नामाकरण गरेको हो । पुलको नयाँ नामसंगै जिल्लामा पर्यटन भित्राउन सहयोग पुग्ने नगरपालिकाको विश्वास रहेको छ । पुलको उद्घाटन गरेर पुलको नामाकरणका लागि नगरपालिकाले आवेदन माग गरेको थियो ।

पुलको उत्कृष्ट नाम छनोटमा पर्नेलाई रु. २५ हजार राशीको पुरस्कार समेत घोषण गरेको बागलुङ नगरपालिकाले पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ नेपालीमा ‘गण्डकी सुनौलो झुला’ नामाकरण गरेको बागलुङ नगरपालिका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए ।

पुलका लागि धेरैले नाम सिफारिस गरे पनि नगरपालिकाको कार्यपालिकामा उत्कृष्ट १० नाम सिफारिस गरेकोमा ‘गण्डकी गोल्डेन ब्रिज’ नाम स्विकृत भएको हो । उक्त पुलको नाम बानपा-५ मालिका निवासी निजामती सेवामा कार्यरत नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष घनश्याम सापकोटाले पेश गरेका हुन् ।

बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदी माथी निर्माण यो पुल विश्वकै लामो भएको बागलुङ नगरपालिकाले दाबी गरेको छ । यस पुलको लम्बाई ५७६ मिटर छ ।

नगरपालिकाले पुलको विश्व रेकर्ड कायम गर्नका लागि समेत सम्बन्धित निकायमार्फत पहल थालेको छ । सुरुमा एशियाकै लामो रहेको भने पनि सस्पेन्सन बृज डिभिजन कार्यालयको रेकर्डमा खुल्ला प्रकृतिको झोलुङ्गे पुल विश्वभर हालसम्म ४९८ मिटर भन्दा बढीको नरहेको पाइएको छ ।

बागलुङमा ५ सयभन्दा बढी झोलुङ्गे पुल छन् । यसअघिका पुल ५ मिटरदेखि ५६७ मिटरसम्म लामा छन् ।विश्वकै लामो पुलको पहिचान स्थापित भए यसले बागलुङमा आन्तरिक तथा बाह्य पर्यटक उल्लेख्य संख्यामा भित्र्याउन महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार