कुलमानको निर्देशन : झ्याप्प–झ्याप्प बत्ती जाने गुनासो सुन्नु नपरोस्

कुलमानको निर्देशन : झ्याप्प–झ्याप्प बत्ती जाने गुनासो सुन्नु नपरोस्


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ७ भाद्र २०७८
  • 9.9K
    Shares

नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन पहल थालेको छ । विना जानकारी झ्याप्प–झ्याप्प बत्ती जाने गरेको, नयाँ बत्ती जडानका लागि मिटर पाउन छोडेको, नो लाइटमा फोन गर्दा फोन नउठाउने जस्ता गुनासो आउन थालेपछि यस्ता समस्या समाधान गरी सेवा प्रवाहमा सुधार ल्याउन प्राधिकरण व्यवस्थापनले पहल सुरु गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज सोमवार ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक, सात वटै प्रादेशिक कार्यालय, प्रदेश डिभिजन कार्यालय र शाखाका प्रमुखसँग भर्चुअल बैठक राखी कार्यालयहरूले ब्यहोरिरहेका समस्याका बारेमा छलफल गरी गुणस्तरीय विद्युत् आपूर्ति, सेवा प्रवाहमा सुधार, सुशासन कायम गर्न कठोर बन्न निर्देशन दिएका छन्  ।

‘छिनछिनमा बत्ती जाने गरेको, गुनासो गर्दा नो लाइटमा फोन नउठ्ने, गुनासो सम्बोधन नहुने जस्ता गुनासो मलाई मात्रै हैन ऊर्जा मन्त्रीज्यूकोमा समेत आउने गरेको छ यस्ता गुनासोलाई तत्काल समाधान गर्नुस् ।साथै उपभोक्तालाई नियमित, गुणस्तरीय, भरपर्दो विद्युत् आपूर्ति र सेवा प्रवाह सुधारमा केन्द्रित हुनुपर्छ,’ उहाँले भन्नुभयो, ‘संस्थाभित्रको सुशासन कायम गरी ग्राहकलाई दिने सेवा सुधार गर्न आफैँ सुध्रिएर नैतिक आचरण देखाउनुपर्छ, चुहावट नियन्त्रण अभियान रोकिएको छ, पालिका र प्रशासनसँगको समन्वय र सहकार्यमा यसलाई तत्काल सुरु गर्नुपर्छ ।’

उनले कसैको दबाब र प्रभावमा नपरी उच्च नैतिक आचरण देखाएर जिम्मेवार भई काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।

कर्मचारीको आचरण सुधार गरी सुशासन कायम गर्न गलत काम गर्ने कर्मचारीलाई कारबाही, माथिल्लो निकायलाई जानकारी नदिई कार्यालय नछोड्ने, संस्थालाई थप आर्थिक भार पर्ने कुनै पनि गतिविधि नगर्ने जस्ता व्यवस्था प्राधिकरणले गरेको छ

‘खर्च नियन्त्रणका लागि स्टोरमा रहेका पुरानो सामानको अधिकतम प्रयोग गरी जिन्सी सामानको स्टक घटाउने, नयाँ सामान खरिदमा नियन्त्रण, काम नलाग्ने जिन्सी सामानहरूको लिलामी, ट्रान्सफर्मर मर्मत समयमै आफ्नै वर्कशपमा गरिने छ । वित्तीय अनुशासन कायम गर्न ठाडो खरिद, कोटेशनमार्फत हुने खरिदको नियन्त्रण आर्थिक प्रशासन विनियमावलीलाई कडाइका साथ पालना गरिने छ’, प्राधिकरणले भनेकाे छ ।

नेपाल विद्युत प्राधिकरणले सहरी सौन्दर्यलाई वृद्धि गर्न ‘उज्यालो र सफाइ सहर अभियान’ समेत चलाउने भएको छ ।

उज्यालो सहर अभियानअन्तर्गत नगरपालिकाहरुसँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्व सम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थलहरुमा सजावटयुक्त आधुनिक बत्ती(स्मार्ट लाइट) जडान गरिने छ ।

साथै सफाइ अभियानअन्तर्गत मुख्य तथा सहायक सडकहरूमा रहेका प्रयोगविहीन अनावश्यक विद्युतीय पोल तथा तारहरू हटाउने, तारहरूलाई भूमिगत गर्नेलगायतका काम अगाडि बढाउन पनि प्राधिकरणको निर्देशन छ ।

पहिलो चरणमा उज्यालो र सफाइ सहर अभियान सङ्घीय राजधानी काठमाण्डाै उपत्यका, भरतपुर एवं पर्यटकीय पोखरा महानगरपालिकामा चलाइने र त्यसपछि विस्तार गर्दै देशभरि नै सञ्चालन गरिने छ ।

बैठकमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले चुहावट नियन्त्रण, विद्युतीकरण, सेवा प्रवाह सुधारमा केन्द्रित हुन निर्देशन दिनुभयो । उहाँले रुग्ण बनेका आयोजनाहरूको ठेक्का तोड्न र कुनै ठेकेदारबाट काम हुँदैन जस्तो लागेमा ठेक्का तोड्ने प्रस्ताव ल्याउन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रादेशिक कार्यालयका प्रमुखहरूले आफ्नो क्षेत्रमा संरचना अभावमा मागअनुसार विद्युत् दिन नसकिएको, पोल, ट्रान्सफर्मर, मिटरलगायतकाे अभाव रहेको जानकारी गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार