कोरोना संक्रमणको दर दिन प्रतिदिन बढ्दै गएपछि बाग्लुङमा पाँच दिन निषेधाज्ञा थप गरिएको छ। । जिल्लामा कोरोना संक्रमितको दर उच्च गतिमा फैलिएपछि यसको नियन्त्रणका लागि पाँच दिन जिल्लाभर कडाइका साथ लागु हुने गरि निषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।
शुक्रबार प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले आगामी भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । बैठकले पछिल्ला केही दिनमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएको र सक्रिय संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले तत्काल रोकथामका लागि जिल्लाभर निषेधाज्ञा कडा पार्ने निर्णय गरेको हो।
निषेधाज्ञाको समयमा बैंक, वित्तीय संस्था, जिल्लाभित्रको यातायात पूर्ण रूपमा बन्द हुनेछ। बैठकले दैनिक उपभोग्य खाद्यान्न पसल पशुपक्षीको दाना पसल आइतबार, बुधबार र शुक्रबार बिहान १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ। त्यसैगरी तरकारी, फलफूल, दूध जन्य पदार्थ माछा मासुका पसलहरू बिहान १० बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन गरिएको छ। यस अवधीमा स्वास्थ्य सामग्री तथा औषधी पसल चौबिसै घण्टा खुल्ने छन् ।
विद्यालय, क्याम्पस, तथा शैक्षिक संस्था, सिनेमा हल पार्क, फुटसल, खेलकुद स्थल, जिमखाना, सैलुन रेष्टुरेण्ट, होटल, हार्डवयर पसल, बैंक तथा वित्तीय संस्था संचालन नगर्न प्रशासनले आग्रह गरेको छ ।
गत वैशाखदेखि सुरु गरिएको लकडाउनमा असारमध्यदेखि केही खुकुलो बनाउँदै लगिएको थियो। तर, खुकुलोपन बढेसँगै कोरोना संक्रमण दर झनै तीव्र गतिमा बढेको छ।