हतियार र लागुऔषध कारोबार गर्ने गिरोहलाइ लुटपाट गर्ने कार्यमा संलग्न रहेका प्रहरी जवानसहित आठ जना पक्राउ

हतियार र लागुऔषध कारोबार गर्ने गिरोहलाइ लुटपाट गर्ने कार्यमा संलग्न रहेका प्रहरी जवानसहित आठ जना पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, १२ बैशाख २०७८
  • 8K
    Shares

janasanchar ,पेस्तोल र लागुऔषध लुट्न गएको समूह

सिमावर्ती रक्सौलबाट अबैध रुपमा नेपालमा हतियार र लागुऔषध कारोबार गर्ने गिरोहलाइ लुटपाट गर्ने कार्यमा संलग्न रहेका एक जना प्रहरी जवानसहित आठ जनालाई प्रहरीले काठमाण्डौ र पर्साका विभिन्न स्थानहरुबाट पक्राउ गरेको छ।

पक्राउ परेका मध्ये एक जना रौतहट सखुहवा नगरपालिका-१ घर भई हाल जिल्ला प्रहरी कार्यालय पर्सामा नै कार्यरत् प्रहरी जवान २९ वर्षीय अवधेशप्रसाद यादव रहेका छन्। उनीसँगै हातहतियार र लागुऔषध कारोबारमा संलग्न वीरगञ्ज १२ का ४३ वर्षीय लालबाबु सिंह, ३५ वर्षीय श्यामबाबु कुशवाह, ४२ वर्षीय अरविन्दकुमार गुप्ता, ४२ वर्षीय कुँवर सिंह, पर्सा-१५ २४ वर्षीय नन्दन सिंह र सोही ठाउँका ३१ वर्षीय रोशन सिंह पक्राउ परेका छन्।

उनीहरुको साथबाट प्रहरीले पेस्तोल दुई थान, म्यागजिन चार थान, लागुऔषध तीनसय एम्पुल र १२ सय पिस नाइट्रोभेट ट्याबलेट बरामद गरेको छ । पक्राउ परेका सबैलाई हिरासतमा लिई लागुऔषध मुद्दामा अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रमुख एसपी प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए ।

पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेका अनुसार, प्रहरीले गत वंशाख ८ गते वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटबाट मकवानपुर मनहरीका २५ वर्षीय राजु रानामगरलाई सुनमिका लेखेको स्वचालित पेस्तोलसहित पक्राउ गरेको थियो। रक्सौलबाट पैदल आउँदै गर्दा रानामगर समातिएपछि प्रहरीले उनीमाथि अनुसन्धान सुरू गरेको थियो।

अनुसन्धान अनुसार त्यसदिन काठमाडौं बस्ने लागुऔषध कारोबारी राम प्रजापतिले रक्सौलका मुस्तफा भन्ने व्यक्तिसँग दुई वटा पेस्तोल खरिद गरेका थिए। प्रजापतिले त्यसमध्ये एक थान पेस्तोल, दुई थान म्यागजिन, लागुऔषध डाइजेपाम, नुर्फिन, फिनारागन, नाइट्रोभेट ठूलो मात्रामा ल्याएर उनले वीरगन्ज बसपार्कमा रहेको मनकामना गेष्ट हाउसमा राखेका थिए।

प्रजापतिले वीरगन्ज बसपार्कमा रहेको मनकामना गेष्ट हाउसमा राखेको त्यही लागुऔषध लुट्ने समुहमा संलग्न प्रहरी जवान अवधेशप्रसाद यादव सहितको समुहलाई पर्सा प्रहरीले पक्राउ गरेको बताइएको छ।

लुट्ने योजना भने लालबाबु सिंहले बनाएका थिए। उनीहरूले सुरूमा रानामगर र प्रजापतिलाई लागुऔषध र हतियारको कारोबार गर्ने रक्सौलका व्यक्ति मुस्तफासँग सम्पर्क गराइदिएका थिए।

घटना अनुसन्धानको सिलसिलामा पक्राउ परेका व्यक्तिहरू काठमाडौं तथा विभिन्न स्थानबाट हतियार र लागुऔषध खरिद गर्न पर्सा पुग्ने गरेको पाइएको पाण्डेले बताए।

मनकामना गेष्ट हाउसबाट लागुऔषध लुटपाट भएपछि प्रजापति काठमाडौं फर्किएका थिए। रानामगर भने अर्को पेस्तोल लिन भारत गएका थिए। रक्सौलबाट फर्किँदै गर्दा उनी पक्राउ परेका थिए ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार