म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभीरबाट शुक्रबार मोटरसाइकल कालिगण्डकी नदीमा खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ दर्शनका लागि मुस्ताङतर्फ आउदै गरेको ग १८ प १५९७ नंम्बरको मोटरसाईकल सडकबाट अनियन्त्रित भई डेढ सय मिटर तल कालिगण्डकी खोंचमा खस्दा कास्की जिल्ला पोखरा महानगर पालिका-२७ हेम्जा बस्ने अन्दाजी वर्ष ३८ का शिवहरी पौडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार मुस्ताङतर्फ आउँदै गरेको उक्त मोटरसाईकल गुडिरहेको अवस्थामै अन्दाजी दिउँसो साँढे एक बजे अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भीक अनुसन्धानमा खुलेको छ । त्यस दुर्घटनामा सम्बन्धमा आबश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।