जागिर मिलाइदिने प्रलोभन देखाएर १७ बर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बुधबार राती इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।
गाउँपालिकाको सरकारी गाडीमा युवती राखी धरानतर्फ लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओली नेतृत्वको प्रहरी टोलीले अध्यक्ष यादवलाई धरान उपमहानगरपालिका ४ स्थित साराङंगाको डुकु होटलबाट रंगेहात पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले दिएको जानकारी अनुसार, अध्यक्ष यादवले युवतीलाई कार्यालयकै गाडीमा राखेर धरान ल्याइ ललाई फकाई गरी बलात्कार गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
यादवविरुद्ध जिल्ला अदालत सुनसरीमा म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको डीएसपी बस्नेतले जानकारी दिए। पक्राउ गरिएका यादव र किशोरी दुबैको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण समेत गरिएको छ । स्वास्थ्य परीक्षणपछि ती बालिकालाई परिवारको जिम्मा लगाइएको डीएसपी बस्नेतले जानकारी दिए।