तत्कालीन जल उत्पन्न प्रकोप नियन्त्रण विभागका पूर्व-महानिर्देशक (डिजी) कमलप्रसाद रेग्मी पक्राउ परेका छन्। ६७ वर्षीय रेग्मीलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले काठमाण्डौको बल्खुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले पुष्टि गरे ।
उनी आफ्नी आमालाई हेरचाह नगरेको आरोपमा पक्राउ परेकी नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयकी निर्देशक सुष्मा रिमालका श्रीमान हुन्।
एसएसपी सिंहका अनुसार सुष्माकी आमा शोभा रिमालले आफ्नी छोरी र ज्वाइ कमलप्रसादविरूद्ध ज्येष्ठ नागरिक ऐनविरूद्धको कसुरमा मुद्दा दायर गरेकी थिइन्। छोरीले तीन करोडभन्दा बढी सम्पत्ति हत्याएर आफूलाई उचित हेरचाह नगरेको दाबी शोभाले गरेकी छन्।
डेढ वर्षअघि आफ्ना पति मरेपछि शोभा छोरीसँगै बस्ने गरेकी थिइन्। आफ्ना पति र आफ्नो संयुक्त खातामा सुनचाँदीसहित तीन करोड रुपैयाँ र वित्तीय संस्थाका सेयरहरू झुक्याएर आफ्नो नाममा पारेको भन्दै शोभाले उजुरी गरेको प्रहरीले जनाएको छ। ज्येष्ठ नागरिक ऐनविरूद्धको कसुर गरेकाले आफ्नी छोरीलाई कारबाही गर्न शोभाले माग गरेकी छन्।
श्रृजना फाइनान्स र अरनिको सहकारीमा राखेको रकम पनि छोरी–ज्वाईंले झुक्याएर निकालेको र आफुलाई पालन–पोषण नगरेको आमाको आरोप छ । शेयर पनि झुक्याएर बेचेपछि शोभा प्रहरीको शरणमा पुगेकी थिइन् ।
सुष्मा गत चैत २२ गते नै पक्राउ परेकी थिइन्। श्रीमान कमलप्रसाद भने फरार थिए।
जिल्ला अदालत काठमाडौंले सुष्मालाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ। गत सोमबार जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।
नौ महिनाअघि उनको उजुरी प्रहरीमा परेपछि छोरी सुष्माले अदालतबाट आफूमाथि कारबाही नगर्न ‘स्टेअर्डर’ लिएर आएकी थिइन्।पछि त्यो अर्डर खारेज गरेपछि आमाले जाहेरी दिएकी हुन्। वृद्ध-वृद्धाले आफ्नो सम्पत्ति खोस्ने र हेरचाह नगर्ने आफन्तविरूद्ध दिएको सम्भवत यो पहिलो जाहेरी हो।