काठमाडौंको बौद्धबाट साढे दुई किलो युरेनियमसहित पक्राउ परेका चार जनामध्ये तीन जना पुर्पक्षका लागि थुनामा गएका छन् भने एक जना धरौटीमा तिहा भएका छन्।
जिल्ला अदालत काठमान्डौले पक्राउ परेका जानुका तामाङ, रामेछाप लिखु तामाकोशी–५ का नारायणसिंह तामाङ र रामेछापका प्रकाश चौहानलाई पुर्पक्षका लागि थुनामा राखेने आदेश दिएपछि उनीहरुलाई केन्द्रीय कारागार चलान गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । कारोबारमा संलग्न भनिएका सिन्धुलीका मनोज न्यौपाने भने अदालतले तोकेको दुई लाख रुपियाँ धरौटी राखेर तारेखमा छुटेका छन्।
उनीहरुलाई काठमाण्डौस्थित महानगरीय प्रहरी कार्यालयको टोलीले फागुन २८ गते साढे साढे दुई किलो युरेनियमसहित पक्रेर अनुसन्धान गरेको थियो । रामेछाप घर भएकी जानुका तामाङको बौद्धस्थित घरमा सो युरेनियम करिब २५ वर्षदेखि लुकाएर राखिएको थियो । भारतको खानीमा काम गर्दा जानुकाका ससुरा अमर लामाले युरेनियम ल्याएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरुविरुद्ध ‘रेडियोधर्मी पदार्थ नियमित र निषेध गर्ने ऐन–०७७’ अनुसार अदालतमा मुद्दा दर्ता गरेको थियो ।