कञ्चनपुरमा पिकनिक खान गएका वडाध्यक्षको मृत्यु भएपछि वडा सचिवसहितका सात जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार, शुक्रबार जिल्लाको वेदकोट नगरपालिका–६ मा पर्ने चुरेपानीमा पिकनिक खान गएका भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदनबहादुर चन्दले मासु खाने क्रममा समस्या देखेइपछि तत्काल अस्पताल लगिएको थियो। तर उनलाई महाकाली अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए। मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ।
नेपाली काँग्रेसबाट निर्वाचित भएका वडाध्यक्ष चन्दको मृत्यु सँगै पिकनिक खान गएका वडा सचिवसहितका सात जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। ।