अबैध सम्बन्धबाट जन्मिएको शिशु घरकोठाको दराजमा लुकाएर अस्पताल पुगेकी एक महिलालाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ।
सिन्धुपाल्चोक घर भै पोखरा महानगरपालिका वडा नम्बर १ स्थित अधिकारीटोलमा बस्दै आएकी २३ वर्षीया अस्मिता घलेलाई प्रहरीले पक्राउ गरेको हो।
अभियुक्त घलेले शनिबार राति ९ बजे शिशु जन्माएपछि नवजात शिशुलाई दराजमा लुगामा गुटुमुटाएर लुकाई अस्पताल पुगेकी बताइएको छ। अस्पतालमा उपचारमा रहेकी घलेका बारे सोधखोज गरेपछि उनले बच्चा जन्माई दराजमा लुकाएको पोल खुलेको थियो। त्यसपछि उनको डेरा कोठामा पुगेको प्रहरीले खानतलाशी गर्दा दराजमा लुगामा गुटुमुटाएर लुकाएको अवस्थामा मृत नवजात शिशु फेला पारेको प्रहरीले जानकारी दिएको छ।
सात महिना अघिदेखि पोखरामा बस्दै आएको घलेले नवजात शिशुको हत्या गरेकी हुन् कि मृत जन्मिएको हो भन्ने बारेमा पत्ता लगाउन शिशुको शबलाई प्रहरीले पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा पठाएको छ।
कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले पोष्टमार्टम रिपोर्टपछि नै बच्चा मृत जन्मेको वा जन्माएर मारेकोबारे थाहा हुने बताएका छन् । सोहि अनुसार मुद्धा अघि बढ्ने उनले जनाए ।
उनले बयानमा आफ्नो श्रीमान् विदेशमा रहेको र, एक पुरुषसँग सम्पर्कमा रहँदै आएको प्रहरॆसमक्ष बताएकी छिन् ।