प्रहरीका कर्मचारीको पारिश्रमिकबाट कटौती गरेर सञ्चालन गरिएको कल्याणकारी कोषमा हाकिमहरूको दोहन रोकिएको छैन । कल्याणकारी कोषमार्फत सञ्चालित प्रहरी पेट्रोल पम्पमा मात्र करिब पाँच करोड अनियमितता भएको खुलेको छ ।
पेट्रोल पम्पमा अनियमितता गरेको आरोपमा पक्राउ परेका असइ दिलीप कार्कीमाथि छानबिन गर्दा पाँच करोडभन्दा धेरै अनियमितता भएको देखिएको हो ।असइ कार्कीले ०७५ को असोजदेखि ०७६ को असोजसम्म मात्रै एक करोड आठ लाख हिनामिना गरेका हुन् । त्यसअघि पनि अन्य कर्मचारीले त्यसरी अनियमितता भएको खुलेपछि थप छानबिन अघि बढाइएको छ ।
नेपाल प्रहरीले प्रारम्भिक छानबिन गरी असइ कार्कीलाई गत ३० साउनमा अख्तियारलाई बुझाएको थियो । उनले एक करोड आठ लाख ९९ हजार एक सय ८४ रुपैयाँ हिनामिना गरेको खुलेपछि आयोगमा बुझाइएको थियो ।
सोही अनियमिततामाथि छानबिन गर्ने क्रममा त्यसअघि पनि पेट्रोल पम्पमा हिनाहिना भएको तथ्य खुलेको छ । स्रोतका अनुसार हालसम्मको छानबिनमा करिब पाँच करोड हिनामिना भएको देखिएको छ । प्रहरीले पनि एसपी सुदर्शन कोइरालाको संयोजकत्वमा एक समिति गठन गरी सबै पुराना विवरणको अध्ययन थालेको छ ।
प्रारम्भिक छानबिनमा प्रहरी पेट्रोल पम्पमा कारोबार गर्ने ठूला कम्पनीहरूले भुक्तान गरेको रकम आफ्नै खातामा राखेर असइ कार्कीले हिनामिना गरेका थिए । सुरुमा प्रहरी प्रधान कार्यालयले उनलाई त्यो पैसा तिराउने प्रयास गरेको थियो, तर त्यसमा आफ्नो मात्र गल्ती नभएको भन्दै उनले विवरण दिएपछि फराकिलो छानबिन सुरु भएको हो । अख्तियारले पेट्रोल पम्पमा काम गरेका पूर्वइन्स्पेक्टर विष्णु पोखरेललगायत प्रहरीसँग बयान लिइसकेको छ ।
अहिले बाहिर आएको अनियमितता नक्सालस्थित पेट्रोल पम्पको मात्र हो । सामाखुसी, पथलैया, कदमाहामा समेत कल्याण कोषअन्तर्गत पेट्रोल पम्प सञ्चालित छन् भने भरतपुरमा सञ्चालनको अन्तिम तयारी छ । अन्य पेट्रोल पम्पमा समेत धेरै चुहावट देखाएर अनियमितता हुने गरेको स्रोत बताउँछ ।
प्रहरी पेट्रोल पम्पमा भएको अनियमितता विगतकै : प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायत
प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले प्रहरी पेट्रोल पम्पमा भएको अनियमितता विगतकै भएको र प्रहरीले नै त्यसको छानबिनमा सक्रियता देखाएको बताए । ‘यो अहिले भर्खरको भ्रष्टाचार होइन, तर जहिलेको भए पनि गम्भीर छानबिन हुन्छ, दोषीलाई कारबाही हुन्छ,’ उनले भने । कल्याण कोषका पछिल्ला कारोबार पूर्ण रूपमा पारदर्शी रहेको उनको भनाइ छ ।
भूतपूर्व प्रहरी भन्छन्– कोषमा १० अर्ब हुनुपर्नेमा तीन अर्ब पनि छैन
अनियमितताविरुद्ध बोल्दा फौजमा अनुशासनको कारबाही हुन्छ, त्यसैले प्रहरीहरू बोल्न सक्दैनन् । तर, सेवानिवृत्त भएपछि भने प्रहरी अलिक खुलेर बोल्छन् । भूतपूर्व प्रहरी संगठनले त कोषमा अनियमितता भएको दाबीसहित सबै विवरण सार्वजनिक गर्न माग गरेको छ ।
‘कोषमा अहिले करिब १० अर्ब रुपैयाँ हुनुपर्ने हाम्रो आकलन छ,’ संगठनका अध्यक्ष वसन्त कुँवर भन्छन्, ‘तर, तीन अर्ब हाराहारी मात्र छ, बाँकी पैसा कहाँ गयो, हामीले हिसाबकिताब माग गरेका छौँ ।’ त्यस्तै, पूर्वएसपी रवीन्द्रनाथ रेग्मी विज्ञ कर्मचारी राखेर कल्याण कोषलाई सञ्चालन गर्नुपर्ने बताउँछन् ।
हालसम्म नेपाल प्रहरीबाट करिब दुई हजार आठ सयजना पर्यवेक्षक शान्ति मिसनमा गएका छन् । पर्यवेक्षक मिसनमा गएका एकै प्रहरीले २५ लाख रुपैयाँसम्म कोषमा योगदान दिएका छन् । त्यस्तै एफपियू मिसनमा आठ हजारजना गइसकेका छन् । हाल सुडानको डार्फरमा मात्र प्रहरीको एफपियू मिसन छ । ‘यो हिसाब पारदर्शी भएको भए कोषमा रकम धेरै हुन्थ्यो,’ कुँवर भन्छन् ।
भृकुटीमण्डपमा रहेको नेपाल प्रहरी हेल्थ क्लबलाई पनि व्यावसायिक बनाउन नसक्दा आम्दानीभन्दा खर्च धेरै छ । विगतमा क्बल ठेक्कामा दिने गरिएकोमा केही वर्षयता प्रहरीले आफैँ सञ्चालन गर्दै आएको छ । कोषअन्तर्गत प्रहरीका सातवटा स्कुल सञ्चालनमा छन् । व्यवस्थापन राम्रो हुन नसक्दा प्रहरीका स्कुल पनि आलोचित हुँदै आएका छन् । थप दुई स्कुल सञ्चालनको तयारी भइरहेको छ ।
साभार नया पत्रिका दैनिक