कोरोना नियन्त्रणका लागि पांच महिनामा १२ अर्ब रुपियाँ स्वाहा, एक संक्रमित पत्ता लगाउन एक लाख खर्च

कोरोना नियन्त्रणका लागि पांच महिनामा १२ अर्ब रुपियाँ स्वाहा, एक संक्रमित पत्ता लगाउन एक लाख खर्च


  • जनसञ्चार डट कम समाचारदाता
  • शनिबार, ६ भाद्र २०७७
  • 6.3K
    Shares

सरकारले कोरोना भाइरस (कोभिड—१९) नियन्त्रणका लागि पांच महिने अवधि हालसम्म झन्डै १२ अर्ब रुपियाँ खर्च गरेको छ भने एक जना संक्रमित खोज्न एक लाख रुपियाँ खर्च भएको देखिएको छ।

शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले कोरोना भाइरस (कोभिड—१९) नियन्त्रणका लागि चैतदेखि साउन मसान्तसम्म ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार रुपैयाँ बराबरको रकम खर्च भएको जानकारी दिए । उक्त रकम मध्ये संघीय सञ्चित कोषबाट पांच अर्ब ८५ करोड रुपैयाँ खर्च भएको मन्त्री खतिवडाले बताए । जसअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रलायबाट दुई अर्ब १७ करोड, रक्षा मन्त्रालयबाट दुई अर्ब ३७ करोड, गृह मन्त्रालयबाट २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयबाट छ लाख, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट चार करोड ४९ लाख र सहरी विकास मन्त्रालयबाट एक करोड २९ लाख रकम खर्च भएको छ । कोभिड कोषबाट एक अर्ब तीन करोड विभिन्न निकायलाई दिइएको उनले बताए ।

 मन्त्री खतिवडाका अनुसार, प्रदेशहरूबाट झण्डै डेढ अर्ब खर्च भएको छ।  प्रदेशहरूले एक अर्ब ४९ करोड ७० लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिए । जसअनुसार प्रदेश नम्बर १ मा २० करोड ७१ लाख, प्रदेश नम्बर २ मा १७ करोड दुई लाख र बागमती १३ करोड ६७ लाख रुपैयाँ खर्च भएको छ । गण्डकी प्रदेशमा १४ करोड ५४ लाख, प्रदेश नम्बर ५ मा १० करोड ५९ लाख, कर्णाली प्रदेशमा २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशमा ४२ करोड ४८ लाख रुपैयाँ कोरोना संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारमा खर्च भएको उनले बताए ।

स्थानीय तहबाट छ अर्ब दुई करोड रुपैयाँ खर्च भएको पनि मन्त्री खतिवडाले जानकारी दिए । त्यसरी खर्च भएको सबै रकम औषधि, स्वास्थ्य सामग्री खरिद, जनशक्ति व्यवस्थापन र क्वारेन्टाइन व्यस्थापनमा खर्च भएको उनको भनाइ थियो ।

यसैबीच सरकारले एक जना कोरोना संक्रमित पत्ता लगाउन एक लाख चार हजार रुपैयाँ खर्च भएको तथ्य सार्वजनिक भएको छ ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डा. जागेस्वर गौतमका अनुसार, माघ ७ गतेदेखि भदौ ५ गते शुक्रवारसम्म सरकारले पांच लाख ७९ हजार आठ सय ९९ जनाको पीसीआर परीक्षण गरेको छ । र, यसका लागि राज्य कोषबाट तीन अर्ब १८ करोड ९४ लाख ४४ हजार पांच सय खर्च भएको छ ।

झण्डै ६ लाखको पीसीआर परिक्षण गर्दा ३० हजार चार सय ८३ जना कोरोना संक्रमित भेटिएका छन । र, हिसाब गर्दा एकजना कोरोना संक्रमित पत्ता लगाउन एक लाख चार हजार रुपैयाँ खर्च भएको छ । त्यतिमात्रै होईन संक्रमितलाई आईसीयूमा राख्नुपर्ने अवस्था आएमा ३० दिनको आईसीयू खर्च ४ लाख ५० हजार हुन्छ ।

कोरोना संक्रमित पत्ता लगाउनु र उपचार गर्नु निकै खर्चिलो भएको सरकारको बुझाई छ । त्यसैले घरमै बसेर राज्यको खर्च जोगाउन र आफू पनि जोगिन सरकारले आम नागरिकलाई अपील गरेको छ ।

कोरोना संक्रमण सरकारको प्रयासले मात्रै नियन्त्रण हुँदैन, त्यसमा नागरिकको पनि जिम्मेवार भूमिका आवश्यक छ । त्यसैले यो संकटपूर्ण घडीमा सुरक्षाका मापदण्ड अपनाएर आपूm पनि जोगिनु र अरुलाई पनि जोगाउन हरेक नागरिकको दायित्व हो ।

अहिलेसम्म पीसीआर परीक्षण गर्न तीन अर्ब १८ करोड रुपैयाँ भन्दा बढी खर्च भएको पनि सरकारी तथ्यांक छ । परीक्षण र उपचार खर्चिलो भन्दै सरकारले सरकारको खर्च कम गर्न र आफै सुरक्षित रहन पनि नागरिकलाई अपील गरेको छ ।

प्रतिक्रिया