पोखरा महानगरपालिकाका एक-तिहाइ बोर्ड सदस्यहरुले ‘महानगरपालिका भ्रस्टाचारको अखडा”का रुपमा चित्रित गरेका छन्।
महानगरपालिकाको बोर्ड सदस्य समेत रहेका महानगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित ११ जना वडाध्यक्षहरुले महानगरपालिकालाई भ्रस्टाचारको अखडा”को रुपमा चित्रित गरेका हुन्। पोखरामा सोमबार पत्रकार सम्मेलन गर्दै उनीहरुले महानगरपालिकामा भएका विभिन्न १६ वटा भ्रस्टाचारका घटना पनि सार्वजनिक गरेका छन्।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका सचेतक एवं पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले महानगरपालिका भ्रस्टाचारको अखडा बनेको भन्दै फेहरिस्त सुनाउदै विभिन्न विषयमा १२ बुँदा सहितको सुझावसहित महानगरलाई ध्यानाकर्षण गराएपनि।
उनले पोखरा महानगरपालिकाले घाटहरु संचालन गर्दा, महानगरका भवन तथा सटरहरु भाडामा लगाउदा, पार्किङ व्यवस्थापन, विज्ञापन, कवाडी टेण्डर, होर्डिङबोर्ड, ट्राफिक आईल्याण्ड, प्रतिक्षालय, सोलार लाईट, डस्विन लगायतको ठेक्का प्रक्रिया र सरसफाई लगायतमा आर्थिक अनुसासनको पालना नगरेको आरोप लगाए।
त्यति मात्र हैन उनले महानगरपालिकाको कामकारबाहीमा विभिन्न विकासका योजना तथा ठेक्का सम्झौतामा एकलौटी गरेको, आफ्नै कार्यकर्ता पोस्ने काम गरेको, महानगर स्वामित्वका भवनहरुको घरभाडा आर्थिक चलखेल गरेको, पार्किङ ठेक्कावापतको रकम अझै असुल नगरेको, बैंक ग्यारेन्टी नराखेको पनि आरोप लगाए।
वडाध्यक्ष लामिछानेका अनुसार पोखरा रामघाटको ठेक्का सम्झौता गर्दा राजी कन्ट्रक्सनसँग प्रचलित कानुन एवं प्रकाशित सूचना विपरीत हुने गरी ३ करोड ५ लाख बराबरको रकम बैंक ग्यारेन्टी एवं नगद २ साताभित्र जम्मा गर्ने गरी सम्झौता भएकोमा रकम जम्मा एवं बैंक ग्यारेन्टी पेस नगरी अनियमितता भएको छ ।
यस्तै, जनप्रतिनिधि आउनुअघि बेरुजु करीब २३ करोड भएकोमा हाल कुल बेरुजु १ अर्ब २६ करोड हुन गएको, पोखराको सिर्जनाचोकस्थित महानगरको भवन ७६ लाख पर्ने गरी भाडामा ठेक्का दिइएकोमा सो बापत हालसम्म १ करोड ८६ हजार अझै असुल गर्न नसकेको, मालपोत कार्यालयअघि महानगरको सटर विगतमा २५ हजार मासिक भाडा दिइदैआएकोमा हाल मात्र १०-१२ हजारमै सम्झौता गरी आर्थिक हिनामिना गरिएको बताइएको छ ।
विज्ञापन करवापतको सम्झौता कायमै रहेको अवस्थामा घुमाउरो पारामा उही ठेकेदारलाई नै सहयोग पुग्ने गरी शर्तहरु राखी ठेक्का दिइएको र रकम असुल उपर नभएको पाइएको छ । त्यस्तै पुरुञ्चौर क्षेत्रका घाटहरुको ठेक्का सम्झौतामा पनि ठूलो रकम हिनामिना भएको पाइएको भन्दै लामिछानेले त्यो ठेक्कामा ९० लाख ५५ हजार आठसय ७५ रुपैयाँ रकम नगद जम्मा हुनु पर्नेमा जम्मा ६२ लाख ६८ हजार मात्र जम्मा गरी बाँकी रकम हिनामिना हुने गरी सम्झौता गरिएको तथ्य सार्वजनिक गरे। त्यसरी जम्मा भएको रकममा पनि ११ लाखको चेक बाउन्स भए पछि प्रक्रियामा जान महानगरले ताकेता नगरेको उनको भनाइ छ ।
सडक पार्किङ ठेक्काको विगतको रकम समेतअसुल नगरी ठेकेदारले राखेका न्युन मूल्यका भिरपाखा जग्गा रोक्का गरिएको छ ।
महानगरको राजश्व महाशाखाले ठूला करदातासँग मिलेमोतो गरी कम राजश्व लिने आरोप पनि वडाध्यक्षहरुले लगाएका छन् । मालपोत कार्यालय पार्दी अगाडिको सटरहरुको भाडा र विज्ञापन कर वापत रकम वक्यौतामा अनियमितता भएको भन्दैअनावश्यक विज्ञापन, इन्धन, भ्रमण भत्ता, खाजा खर्च, जिन्सी सामानका खर्चहरु अपारदर्शी भएको उनीहरुको भनाइ छ ।
पोखरा महानगरपालिकाको सातांै नगरसभामा प्रस्तुत लेखा समितिको प्रतिवेदनमा पनि यी अनियमितता उल्लेखगरिएका छन् ।
यस्तै पोखरा महानगरपालिका वडा नं. ४ का अध्यक्ष शंकर प्रसाद बास्तोलाले महानगरमा तमाम समस्याहरु रहेका प्रति पटक पटक ध्यानाकर्षण गराउदा पनि नेतृत्व एकलौटी रुपमा पेलेरै अगाडी बढिरहेको आरोव लगाए । आफुहरुको सुझावलाई कुनै पनि हालतमा नसुन्ने र महनगरमा मनपरि तन्त्र चलाउने प्रयत्न गरिएको उनले टिप्पणी गरे ।

महानगरपालिकाका कुल ३३ वटामध्ये ११ वटा वडामा काँग्रेसबाट निर्वाचित वडाध्यक्ष छन् ।काँग्रेसबाट पोखरा ९ मा रामराज लामिछाने, पोखरा २ मा रामेश्वर मल्ल, ३ मा रवीन्द्रबहादुर प्रजु, पोखरा ४ मा शंकर बास्तोला, ६ मा जगतबहादुर पहारी, १० मा राजकुमार गुरुङ, ११ का मोहनप्रसाद बास्तोला, १२ मा रामबहादुर कार्की, २३मा विष्णुप्रसाद पराजुली, २७ मा पूर्णकुमार गुरुङ र ३२ का अक्कलबहादुर कार्की निर्वाचित वडाध्यक्ष हुन् ।