सचिवालयले मिलाउन नसकेको सत्तारुढ नेकपाको किचलो स्थायी कमिटि बैठकले पनि टुंगो लगाउन नसकेपछि अन्तत: त्यो किचलो केन्द्रीय कमिटीमा पुग्ने देखिएको छ।
बिबाद समाधानको लागि भन्दै पटक पटक स्थगित हुँदै आएको पार्टी स्थायी कमिटिको आज शुक्रबारको बैठकले सम्भवत: आगामी भदौ महिनामा केन्द्रीय समिति बैठक आव्हान गर्नेछ।
प्रम एबम पार्टी अध्यक्ष ओलीबिरुद्ध पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता एबम पुर्व प्रम माधब नेपाल, अर्का बरिष्ठ नेता एबम पुर्व प्रम झलनाथ खनाल र पार्टी उपाध्यक्ष एबम पुर्व उपप्रम बामदेब गौतम लागि परिरहेका छन्।
पार्टीको स्थायी कमिटि बैठकमा प्रधानमन्त्री एबम पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकोहोरो राजीनामा माग गरि रहेका छन्। यही कारण आफु अल्पमतमा रहेका प्रम एबम पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटि बैठकलाई पटक पटक स्थगित गराएका छन्।
सत्तारुढ नेकपाको स्थगित स्थायी कमिटि बैठक आज शुक्रबार बस्दैछ। सोही सन्दर्भमा बिहीबार पार्टी अध्यक्ष एबम प्रम केपी शर्मा ओली, अर्का अध्यक्ष एबम पुर्व प्रम पुष्पकमल दाहाल र पार्टीका बरिष्ठ नेता माधब कुमार नेपालका बीच त्रिपक्षीय वार्ता सम्पन्न भयो।
सो वार्ताका क्रममा दाहाल र नेपालले ओलीलाई पदबाट राजिनामा अनुरोध गरेका थिए। तर ओलीले कुअनै पनि हालतमा आफुले पदबाट राजीनामा नदिने अडान लिएका थिए। उनीहरु बिचको छलफलमा शुक्रबार पार्टी स्थायी कमिटि बैठक बस्ने र सोही बैठकले पार्टीको केन्द्रीय कमिटि बैठक डाक्ने सहमति गरेका थिए।
शिर्षस्थ तीन नेताहरु ओली, दाहाल र नेपाल बिचको छलफलपछि पनि पार्टीभित्रको किचलो मिलाउन पटकपटक दुईपक्षीय, त्रिपक्षीय र अन्य नेताहरु समेत समेटेर बैठक बसेको थियो। तैपनि पार्टीभित्रको किचलो मिल्ने सम्भावना देखिएन।
पार्टी स्थायी कमिटि बैठकको पुर्व सन्ध्यामा ओली पक्षधर नेताहरुको छुट्टै बैठक बालुवाटारमा बसेको थियो भने ओली बिरुद्ध लागेका नेताहरुको बैठक दाहाल निवास खुमलटारमा बसेको थियो। उनीहरुले आफ्ना बैठकमा आफूहरुका भावी रणनीति बारे छलफल गरेको बताइएको छ।
बिहानै दाहाल निवास खुमलटारमा गृहमन्त्री रामहादुर थापा समेत सचिवालयका ९ मध्ये ६ जना नेताहरुले छलफल गरेका थिए । सो छलफलमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलको सहभागिता थियो । खुमलटारको भेलाले भदौ पहिलो साताभित्र केन्द्रीय कमिटी बैठक बोलाउनु पर्ने र जारी स्थायी कमिटी बैठकका एजेन्डा त्यही छलफल हुनुपर्ने निष्कर्ष निकालेको छ ।
खुमलटारबाट प्रचण्ड र माधव नेपाल दिउँसो प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटार पुगेका थिए । छलफलमा केहीबेर महासचिव विष्णु पौडेल र जनार्दन शर्मा पनि उपस्थित थिए । पौडेल र शर्मा बाहिरिएपछि तीन नेताले छलफल गरेका थिए । पछि माधव नेपाल बाहिरिएपछि प्रचण्ड र ओलीवीच केहीबेर एक्लाएक्लै कुरा भएको थियो ।
ओली र प्रचण्ड आ-आफ्नै अडानमा रहेपछि कुनै सहमति जुटेन । तर, शुक्रबारको बैठक स्थगन नगर्ने भन्दै प्रचण्ड बालुवाटारबाट बाहिरिए ।
उता दाहाल बालुवाटारबाट बाहिरिएपछि बालुवाटारमा पनि सुवास नेम्वाङ, विष्णु पौडेल, ईश्वर पोखरेल, प्रदीप ज्ञवालीलगायतका ओली पक्षका नेताहरुले भावी रणनीतिबारे छलफल गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
उता दाहाल निवास खुमलटारमा बसेको प्रचण्ड–माधव समूहका सचिवालय सदस्य एवं स्थायी कमिटी सदस्यहरुको भेलाले तत्काल केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ।
प्रचण्ड र नेपालसँग सहमति हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफू निकटका नेताहरुसँग परामर्श थालेका छन् ।
अब के के होला ?
सत्तारुढ नेकपाभित्रको किचलो झन् बल्झिदै गईरहेको छ। यसवीचमा असार १० यता ओली पक्ष र प्रचण्ड-माधव पक्षले आ-आफ्नो पोजिसन राम्रैसँग लिएको देखिन्छ ।
आफूलाई प्रधानमन्त्रीबाट हटाउने हो भने संकटकाल लगाउने, पार्टी विभाजन गरेर एमाले ब्युँताउने वा राजनीतिक निर्णय गरेर देशलाई मध्यावधि चुनावतर्फ धकेल्ने प्रयास केपी ओलीले गर्न सक्ने प्रचण्ड-माधव पक्षले विश्लेषण गरेको थियो ।
तर, यसवीचमा प्रधानमन्त्री ओली आफ्नै समूहभित्रबाट पनि आलोचित बनेपछि उनले पार्टी विभाजनको कदम चाल्न नसकेको निश्कर्ष अन्य नेताहरुले निकालेका छन् । यसवीचमा प्रधानमन्त्री ओलीले युवा संघका कार्यकर्तालाई सडकमा उतारिसकेका थिए । तर, प्रधानमन्त्रीको समर्थनमा सडकमा निस्किएको जुलुस पनि अहिले सेलाइसकेको छ ।
आफूसँग बहुमत रहेता पनि स्थायी कमिटीबाट प्रचण्ड-माधव समूहले केपी ओलीलाई पदमुक्त गर्ने निर्णय अहिलेसम्म नगरेका कारण दुबै पक्षवीच अहिलेसम्म युद्धविरामको जस्तो अवस्था देखिएको छ ।
यो परिस्थितिमा अब दुबै पक्ष आ-आफ्नो अडानमा रहे पनि दुईतिरैबाट कुनै कदम चाल्ने अवस्था देखिँदैन । बरु यसका लागि केन्द्रीय कमिटी बैठक बोलाइयो भने स्थायी कमिटीको बहस त्यहाँ सर्न सक्छ र आगामी असोजभित्र कुनै निकास निस्कन सक्ने देखिन्छ । र, त्यसबेलासम्म नेकपाभित्रको तनाव नटरे पनि सर्न चाहिँ सक्छ ।