पोखरा महानगरपालिकामा कार्यरत तीन जना न्यून स्तरका कर्मचारी नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागीर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ।
विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरिएका पोखरा महानगरपालिकाका कर्मचारीहरुमा सहायकस्तर चौथो पदमा कार्यरत कर्मचारी यमुना श्रेष्ठ, सोही पदमा कार्यरत रामप्रसाद भट्टराई र नगर प्रहरी लोकबहादुर विक रहेका छन्।
अख्तियार स्रोतका अनुसार, ताताकालिन पोखरा उपमहानगरपालिकामा जागिर खाने प्रयोजनका लागि सहायकस्तर चौथो पदमा कार्यरत कर्मचारी यमुना श्रेष्ठले भद्रकाली माध्यमिक विद्यालय कुँडहर पोखराबाट कक्षा १० उत्तीर्ण गरेको प्रमाणपत्र पेश गरेकोमा सो प्रमाणपत्र नक्कली रहेको अनुसन्धानबाट खुलेको थियो।
त्यस्तै सहायक स्तर चौथो पदर्मै कार्यरत रामप्रसाद भट्टराईले पनि जागीर खानका लागि भानुभक्त आचार्य माध्यमिक विद्यालय गल्याङ स्याङजाबाट कक्षा १० टेष्ट उत्तीर्ण गरेको भनी पेश गरेको प्रमाणपत्र नक्कली देखिएको अख्तियारको अनुसन्धानबाट देखिएको थियो।
नक्कली प्रमाणपत्र पेश गरी अनुचित लाभ लिएको आरोप लागेका नगर प्रहरी लोकबहादुर विकले पनि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र बनाएको अख्तियारको दाबी छ । विकले इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालय, कास्कीबाट टेष्ट परीक्षा उत्तीर्ण गरेको झुठ्ठा शैक्षिक प्रमाणपत्र पेश गरेका थिए ।
तीनै जनाउपर आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर भएको अख्तियार प्रवत्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।