काठमाडौंमै ‘सर्जिकल अट्याक’, बेहोस बनाएर भारत पुर्‍याइयो, अनि किड्नी निकालियो, तीन मृगौला तस्कर पक्राउ

काठमाडौंमै ‘सर्जिकल अट्याक’, बेहोस बनाएर भारत पुर्‍याइयो, अनि किड्नी निकालियो, तीन मृगौला तस्कर पक्राउ


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, १४ पुष २०७३
  • 15.5K
    Shares

गोरखा मुचोकका दीपक नेपाली

गोरखा मुचोकका दीपक नेपाली रोजगारीका लागि पोखरामा बस्दै आएका थिए । मजदुरी काम गर्ने १९ वर्षका उनको भेट कास्कीका भीमप्रसाद न्यौपानेसँग भयो ।राम्रो जागिर लगाइदिन्छु, मेरो प्लाई उद्योग छ भन्दै गत साउनमा न्यौपानेले नेपालीलाई काठमाडौं ल्याए । उनले विकास भन्ने बिनुबहादुर तिमल्सिनासँग भेट गराइदिए । उनले काम दिलाउँछु भनेर प्लाई कम्पनी घुमाए । त्यसपछि दीपकमाथि सर्जिकल ढंगबाट आक्रमण भयो । भारतको अस्पतालमा होस खुल्दा उनको अप्रेसन भइसकेको थियो ।

‘कम्पनी सबै घुमिस्, अब काममा जानुपर्छ भनेर होटलमा खाजा खुवाउन लगे,’ दीपक सम्झन्छन्, ‘रक्सीमा ट्याब्लेट हालेर खुवाएर मलाई इण्डिया पुर्‍याए ।’

किड्नी तस्कर
किड्नी तस्कर काभ्रेका विकास, दोलखाका प्रकाश बस्नेत र कास्कीका भीमप्रसाद न्यौपाने

बेहोस बनाएर दीपकलाई रातारात भारतको गाजियावाद पुर्‍याइयो र, त्यहीँ उनको मिर्गौला झिकेर बेचियो । उनी होसमा आउँदा आफूलाई अस्पतालको बेडमा पाए । आफ्नो दायाँ कोखामा चोट देखेर उनी छक्कै परे । विकासको समूहले उनलाई अँध्यारोमा तँलाई गुण्डाले चक्कु हान्यो र बेहोस बनायो, त्यसैले उपचार गर्न ल्याएको भने ।

झण्डै दुई महिना उपचारपछि उनी ठीक भए । नेपाल आउने बेलामा उनका हातमा २८ हजार राखिदिए । ‘सर किन पैसा दिएको’ भन्दा ‘तँलाई हामीले उपचार गर्दिहाल्यौं’ भन्ने जवाफ दिए ।

भारतबाट नेपाल आएको केही समयमै उनी बिरामी परे । र, चितवन मेडिकल कलेजमा जचाउन गए । त्यसक्रममा चिकित्सकले तिम्रो त एउटा किड्नी नै छैन भनेपछि उनी छाँगाबाट खसेझै भए ।

दीपककै उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले विकाससहित किड्नी तस्करीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे महादेवस्थानका विकास सहित दोलखा भीमेश्वरका प्रकाश बस्नेत र कास्कीका भीमप्रसाद न्यौपानेसमेत छन् ।

प्रहरीको अनुसन्धानका क्रममा मृगौला बेचविखनमा विकासहित ५ जनाको समूह सक्रिय रहेको पाइएको छ । दुईजना भने अझै फरार छन् । नारायण नेपाली र अमृत गुरुङ र डल्ली गुरुङ फरार छन् । डल्ली भट्टी चलाउने महिला भएको बताइएको छ ।

प्रहरीका अनुसार काठमाडौंमा बिकास र प्रकाशले ग्राहक खोज्थे । भीम न्यौपानेसँग मिलेर विभिन्न स्थानबाट जागिरको प्रलोभनमा परेर काठमाडौं ल्याउने काम गर्दै आएका थिए । यसरी ल्याइएका मानिसहरूलाई कामका लागि भनी स्वास्थ्य परीक्षण गरेर ब्लड ग्रुप पत्ता लगाउने गरेका थिए ।

उनीहरूले अहिसेसम्म ५ जनाभन्दा बढीको किड्नी झिकेको अनुसन्धानबाट खुलेको छ । किड्नी तस्करीमा संलग्नमध्ये भीमले करिव तीन वर्ष पहिले पैसाकै लागि आफ्नै किड्नी बेचेको पाइएको छ । त्यसपछि उनले यसलाई तस्करीको पेशा नै बनाए । प्रहरीका अनुसार यो समूहले ५ देखि ७ लाख रुपैयाँसम्ममा किड्नी बेच्ने गरेको पाइएको छ ।

प्रतिक्रिया