विद्यालय खुल्ने अनिश्चित : तीन महिनाको शुल्क बुझाउन निजी विद्यालयहरुकोअभिभावकलाई ताकेता

विद्यालय खुल्ने अनिश्चित : तीन महिनाको शुल्क बुझाउन निजी विद्यालयहरुकोअभिभावकलाई ताकेता


  • जनसञ्चार डट कम समाचारदाता
  • सोमबार, ८ असार २०७७
  • 5.5K
    Shares

कोरोना महामारीकाकारण गरिएको लकडाउनका कारण नयाँ शैक्षिकसत्र अन्तर्गत बिद्यालयहरु कहिलेबाट सुरु हुने अनिश्चित छ । तर निजी विद्यालयहरुले शुल्क उठाउन आन्तरिक सर्कुलर गर्दै अभिभावकलाई ताकेता गरेका छन् । शिक्षण संस्थामा पठनपाठन ठप्प रहेपनि प्याब्सन र एनप्याब्सनले संयुक्त अपिल जारी गरेर शुल्क बुझाउन ताकेता गरेका हुन् ।

निजी विद्यालयहरु आर्थिक संकटमा गुज्रेको कारण देखाउँदै गत शैक्षिक वर्षको बाँकी बक्यौता र शैक्षिकसत्र २०७७ को रकम बुझाउन अभिभावकहरुलाई आग्रहको भाषामा ताकेता गरिरहेका छन्।

स्रोतकाअनुसार प्याब्सन, एनप्याब्सनले शुल्क उठाउन देशभरका निजी विद्यालयलाई आन्तरिक सर्कुलर समेत गरिसकेका छन् । आइतबार प्याब्सन अध्यक्ष टिकाराम पुरी र एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले सार्वजनिक अपिल गरेर शुल्क बुझाउन भनेका हुन् ।

शिक्षा मन्त्रालयले गत चैत महिनाको कुनै पनि शुल्क नलिन निर्देशन दिएको छ । असार अघिसम्म सञ्चालित अनलाइन कक्षाको पनि शुल्क लिन नपाइने मन्त्रालयले जनाएको थियो । असार १ गतेदेखि शिक्षा मन्त्रालयले देशभर बैकल्पिक विधिबाट सिकाइ क्रियाकलाप सञ्चालन गरेपछि निजी विद्यालय सञ्चालकहरु शुल्क उठाउन कसिएका हुन् ।

विगतमा शैक्षिकसत्रको सुरुमा भर्ना लगायत विभिन्न शिर्षकमा निजी विद्यालयहरुले लाखौं रुपैंया उठाउने गर्थे । यसपटक अघिल्लो शैक्षिकसत्रको अन्त्य देखि नै लकडाउनले शैक्षिक गतिविधि पनि प्रभावित हुँदा सञ्चालकहरुले कुनै पनि शुल्क उठाउन पाएका छैनन् ।

सामाजिक दुरी कायम हुने गरी विद्यालयमा उपस्थिति भएर शुल्क बुझाउन आग्रह गरिएको छ । रकम भुक्तानी गरेर सहयोग गरिदिन अपिलमा अनुरोध गरिएको हो । सरकारले लकडाउनमा समस्यामा परेका निजी विद्यालयलाई कुनै पनि सहयोग नगरेका कारण अभिभावकसँग शुल्क माग्न बाध्य भएको एनप्याब्सन अध्यक्ष सापकोटाले जनाए ।

शिक्षा मन्त्रालयले एक महिनाका लागि वैकल्पिक विधि (रेडियो, टेलिभिजन, अनलाइन र अफलाइन) बाट वैकल्पिक कक्षा सञ्चालन गरेको छ । शुल्कका विषयमा निजी विद्यालयले स्थानीय तहसँग समन्वय गर्नुपर्ने भन्दै मन्त्रालयका प्रवक्ता दिपक शर्मा पन्छिए । लकडाउनको बेला अनलाइन कक्षाको नाममा कतिपय निजी विद्यालयले शुल्क माग्दा स्थानीय तहमा उजुरी परेको थियो ।

वैकल्पिक कक्षामा सहभागी विद्यार्थीलाई भर्ना गराएर निजी विद्यालयहरुले शुल्क उठाउन खोजेको अभिभावकहरुको गुनासो छ । कतिपय निजी विद्यालयले विद्यार्थीसँग वार्षिक शुल्क लगायत अन्य शुल्क लिन्छन भने पाठ्यपुस्तक र पोशाक बिक्री गरेर पनि मुनाफा कमाउँछन् ।

प्याब्सनका अध्यक्ष पुरीले १ महिनाको शिक्षण शुल्कमा मात्र छुट दिन सकिने प्रतिक्रिया दिए । जेठदेखि लाग्ने सम्पूर्ण शुल्क लिने उनले जनाए । उनले भने, ‘वैशाखदेखि नै भर्चुअल कक्षा सञ्चालन गरिहेका छौं । त्यसको पनि शुल्क लाग्छ ।’ निजी विद्यालयले कुनै न कुनै रुपमा वैकल्पिक विधिबाट कक्षा सञ्चालन गरिराखेको उनको दाबी छ ।

विद्यालय चलाउन सक्ने अवस्था नै नरहेकाले बाध्य भएर शुल्क उठाउनु परेको पुरीले दोहोर्‍याए ।  प्याब्सन, एनप्याब्सनले अभिभावकलाई शुल्क बुझाउन ताकेता गरेसँगै शिक्षक कर्मचारीलाई खाइपाइ आएको तलब सुविधा दिन पनि सर्कुकलर गरिएको दाबी गरेका छन् । तर अधिकांश निजी विद्यालयले चैत देखि नै तलब नदिएको, तलब दिने केहिले पनि आधा मात्रै दिएको शिक्षक, कर्मचारीको गुनासो छ ।

शुल्क नबुझाउन अपिल

विद्यार्थी संघसंगठनले भने पठनपाठन नै नभएको समयको शुल्क नबुझाउन विद्यार्थी अभिभावकलाई अपिल गरेका छन् । नेपाल विद्यार्थी संघले गत साता शिक्षण संस्था बन्द रहेको अवधीको शुल्क छुट दिन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको ध्यानाकर्षण गरेका थियो । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले महामारीका बेला पनि निजी विद्यालय सञ्चालकहरुले अभिभावकलाई लुट्न खोजेको आरोप लगाए ।

‘शिक्षण संस्था बन्द छन्, पढाई नै भएको छैन के को शुल्क तिर्ने ?,’ उनले भने, ‘प्याब्सन, एनप्याब्सनको मनपरीलाई सरकारले रोक्नुपर्छ ।’ उनले शुल्क उठाए अनेरास्ववियूलाई स्वीकार्य नहुने बताए । नेविसंघका अध्यक्ष राजिव ढुंगाना स्कुल, कलेज सञ्चालन नभएको अवधीको कुनै पनि शुल्क विद्यार्थी अभिभावकले नतिर्ने प्रष्टाए । ‘शिक्षामन्त्रीलाई शुल्कमा छुट दिन पटक/पटक आग्रह गर्दै आएका छौं,’ उनले भने ।

प्रतिक्रिया