दुईसय ७५ मध्ये दुईसय ५८ ले संबिधान संशोधनको पक्षमा हस्ताक्षर गरे, बाँकी सांसद खै ?

दुईसय ७५ मध्ये दुईसय ५८ ले संबिधान संशोधनको पक्षमा हस्ताक्षर गरे, बाँकी सांसद खै ?


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ३२ जेष्ठ २०७७
  • 4.8K
    Shares

सभामुख अग्निप्रसाद सापकोटा

समाजवादी पार्टीले सरकारद्वारा नेपालको नयाँ नक्शा र निशान छाप परिवर्तन सम्बन्धि संशोधन प्रस्तावका बिरुद्ध व्यक्तिगत रुपमा संशोधन राख्ने सांसद सरिता गिरीले संशोधन फिर्ता नलिए गिरीलाई पार्टीबाट निष्कासन गर्ने घोषणा गरेको थियो।  गिरीले  संशोधन प्रस्ताब त फिर्ता लिइनन नै, सभामुखले उनको प्रस्ताब प्रक्रिया नपुगेको भन्दै अस्वीकृत गरिएको रुलिङ्ग गरेपछि संसद छाडेर हिडीन र सरकारले पेश गरेको संबिधान संशोधन प्रस्तावको पक्षमा भएको मतदानमा सहभागी भइनन् पनि।  उनलाई समाजवादी पार्टीले कारवाही गर्छ कि गर्दैन , त्यो हेर्न बाँकी छ।  तर संसद सदस्य दुईसय ७५ मध्ये दुईसय ५८ सांसदले मात्र मतदान गरे।  बाँकी कता गए ? खोजीको बिषय बनेको छ।

प्रतिनिधिसभाले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेको नयाँ नक्सासहित संविधानको अनुसूची ३ संशोधन गरेको छ । शनिबार नेपालको संविधानको दोस्रो संशोधन प्रस्ताव सर्वसम्मतले निर्णय गरेको हो । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा भएको मतदानमा कुल सांसद संख्या २७५ मध्ये २५८ जनाले मात्रै सहभागी भएका छन् । सहभागी सबैले संशोधनको पक्षमा मत दिएका छन् र, दुई तिहाईभन्दा बढीले संशोधन पास भएको छ । तर संसद बैठकमा केही सांसद अनुपस्थित थिए ।

संसद सचिवालयका अनुसार चार सांसद रेसम चौधरी, मोहम्मद अफ्ताव आलम, विजयकुमार गच्छदार र हरिनारायण प्रसाद रौनियार निलम्बनमा छन् । उनीहरुले बैठकमा उपस्थित हुन र मतदान गर्न पाउँदैनन् । यस्तै सभामुखलाई पक्ष/विपक्षमा मतदान गर्ने अधिकार रहँदैन ।

समाजवादी पार्टीकी सांसद सरिता गिरी बैठकमा उपस्थित थिइन् । तर संशोधन प्रस्ताव सभामुखले अस्वीकृत गरेपछि उनी छाडेर निस्किएकी थिइन् । यसबाहेक मतदान गर्न पाउने ११ सांसद बैठकमा उपस्थित भएनन् र मतदान गरेनन् ।

बैठकमा नजाने र मतदान प्रक्रियामा सहभागी नहुने सांसदमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार जना छन् । गोपालबहादुर बम, धनबहादुर बुढा, शिवकुमार मण्डल र हरिबोल गजुरेल अनुपस्थित भएका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका तीन सांसद अनुपस्थित रहे । जनागेन्द्रकुमार चौधरी, सूर्यबहादुर केसी र ज्ञान कुमारी छन्त्याल मतदानमा अनुपस्थित रहे ।

यस्तै राष्ट्रिय जनता पार्टीका अमृतादेवी अग्रहरी, प्रमोद शाह र दुलारीदेवी खत्वेनी तथा समाजवादी पार्टीका सूर्यनारायण यादव उनुपस्थित रहे ।

प्रतिक्रिया