नेपालले सार्वजनिक गरेको नयाँ राजनीतिक र प्रशासनिक नक्शा संयुक्त रास्ट्र संघलाई बुझाउने, भारतद्वारा नेपालको नयाँ नक्शा अस्वीकार

नेपालले सार्वजनिक गरेको नयाँ राजनीतिक र प्रशासनिक नक्शा संयुक्त रास्ट्र संघलाई बुझाउने, भारतद्वारा नेपालको नयाँ नक्शा अस्वीकार


  • जनसञ्चार डट कम समाचारदाता
  • बिहिबार, ८ जेष्ठ २०७७
  • 4.4K
    Shares

भूमि व्यवस्थमन्त्री पदमा अर्यालले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा बुधबार सार्वजनिक गरेकी छिन । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार पत्रकार सम्मेलन गरी मन्त्रिपरिषले सोमबार स्वीकृत गरेको नेपालको नयाँ नक्सा बुधबार सार्वजनिक गरेकी हुन्   .

अब सबै सरकारी दस्तावेज एवं पाठ्यपुस्तकमा नयाँ संस्करण बमोजिमका नक्साहरू प्रयोग हुनेछन् । साथै आम प्रयोगकर्तालाई पनि अब नयाँ संस्करण बमोजिमको नक्सा प्रयोग गर्न मन्त्री अर्यालले आग्रह गरिन् ।

मन्त्री अर्यालले नेपालले पारित गरेको नेपालको नयाँ नक्शाका बारेमा संयुक्त राष्ट्र संघलाई जानकारी दिने पनि स्पस्ट पारेकी छिन।  यस अघिको नक्सामा गुञ्जी, नाबी कुटीलगायतका क्षेत्र छुटेकाले त्यसलाई समावेश गरेन नयाँ नक्सा सार्वजनिक गरिएको मन्त्री अर्यालले बताइन् । उनले नेपालको नयाँ नक्साको विषयलाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरिन् ।

१८१६ को सुगौली सन्धीअनुसार काली नदी र त्यस पूर्वको भूभाग नेपालको अभिन्न अंग भएपनि हाल नेपालमा प्रचलित नक्साहरुमा काली नदी पूर्वका गुन्जी, नाभी, कुटी लगायतका केही भूभाग समेटिएको नदेखिएकाले नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय भएको उनले बताइन् ।

‘यो निर्णयले नेपाल सरकार आफ्नो राष्ट्रियता र सम्प्रभुताको रक्षा गर्न प्रतिबद्ध रहेको पुनः प्रमाणित भएको छ’ भूमिसुधारमन्त्री अर्यालले भनिन्, ‘आगामी दिनमा छिमेकी मित्रराष्ट्र भारत सरकारसंग द्विपक्षीय वार्ता र कुटनीतिक प्रयास मार्फत समस्याको समाधान गर्न प्रतिबद्ध छौ । मित्रराष्ट्र भारतले सकारात्मक रुपमा लिनेछ भन्ने विश्वास लिएका छौं ।’

नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा
नेपालको नयाँ राजनीतिक र प्रशासनिक नक्सा

नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ ।

भारतीय विदेश मन्त्रालयका प्रबक्ता अनुराग श्रीवास्तव
भारतीय विदेश मन्त्रालयका प्रबक्ता अनुराग श्रीवास्तव

यसैबीच, भारतले नेपालले एकतर्फी रुपमा नयाँ नक्सा जारी गरेको भन्दै त्यो आफूलाई मान्य नहुने प्रतिक्रिया दिएको छ । बुधबार नेपालले सार्वजनिक गरेको नयाँ नक्साका बारेमा प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले एकतर्फी रुपमा भारतीय भूमि आफ्नो नयाँ नक्सा समेटेको आरोप लगाए ।

उनले भनेका छन्, ‘नेपालले आज एक संशोधित नक्सा सार्वजनिक गरेको छ । जसमा केही भारतीय भूमि पनि समेटिएको छ । यो एकतर्फी कदम हो र यो ऐतिहासिक तत्थ्य र प्रमाणमा आधारित पनि छैन ।’ प्रवक्ता श्रीवास्तवले नेपाल–भारत सीमा विवाद कूटनीतिक वार्तामार्फत समाधान गर्ने द्विपक्षीय समझदारीभन्दा बाहिर गएर नेपालले कदम चालेको पनि बताएका छन् । उनले नेपालको कदमलाई ‘कृत्रिम विस्तार’ को संज्ञा दिँदै भारतलाई मान्य नहुने बताएका छन् ।

त्यस्तै प्रवक्ता श्रीवास्तवले यस विषयमा भारतको धारणाका बारेमा नेपाल राम्रोसँग परिचित भएको भन्दै ‘अनुचित कार्टोग्राफिक’ दाबीबाट टाढा राख्दै भारतीय सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गर्न नेपाललाई आग्रह गरेका छन् । उनी भन्छन्, ‘हामीलाई आशा छ कि नेपाली नेतृत्वले सीमा विवाद समाधानका लागि कूटनीतिक वार्ताका लागि सकारात्मक वातावरण बनाउनेछ ।’ नेपालले औपचारिक रुपमा बुधबार नक्सा सार्वजनिक गरेसँग भारतले प्रतिक्रिया दिएको हो । भारतीय सञ्‍चारमाध्यमहरुमा नेपालको नयाँ नक्साबारे चर्चा भए पनि भारतीय विदेश मन्त्रालयका तर्फबाट पहिलो पटक प्रतिक्रिया आएको हो ।

 

 

प्रतिक्रिया