नेपालमा जब बिपत पर्छ, छिमेकी देश भारतले नेपाललाई हेप्छ र सिमा मिच्ने अनि नाकाबन्दी गर्ने काम गर्छ। भारतको यस्तो हेपाहा र मिचाहा प्रबृत्ति देखेर नेपाल र भारतबीच रहेको खुल्ला सिमानामा काँडेतार लगाउनुपर्ने आवाज जोडदार रुपमा उठ्न थालेको छ। यो बिषयले नेपालको संसदमा पनि प्रवेश पाएको छ। पर्वतबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सत्तारुढ नेकपाका सांसद पदम गिरीले संसदमा घोषणा गरे ‘यदि नेपाल-भारत सीमामा काँडेतार लगाउने हो भने म मेरो पारिश्रमिक सबै त्यही कामका लागि सरकारलाई दिन्छु। ” उनको त्यो घोषणाले एक-दुई दिन चर्चा पायो। तर पानीको फोका जस्तै बिलाएर गयो। संसदमा उठेको यस कुरालाई सरकारले टेर-पुच्छर लगाएको छैन।
यसैबीच अब रास्ट्रीय स्वाधिनताको लडाई तुरुन्त शुरु गरिनुपर्ने र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने भनेर घोषणा गरेको बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र उसका भात्री संगठनहरु हेपाहा र मिचाहा नीति लिएको भारतविरुद्ध प्रतिरोध संघर्ष शुरु गर्नुपर्ने धारणा सार्वजनिक गर्न थालेका छन्। उनीहरुले हेपाहा र मिचाहा भारतको सीमामा काँडेतार लगाउनुपर्ने कार्यलाई अघि बढाएका छन्।
गत वर्ष बिद्रोही ने.क.पा.को भात्री संगठन अखिल (क्रान्तिकारी)ले सिमानामा काँडेतार लगाएर यस कामको शुरुवात नै गरेको थियो। उनीहरुले त्यस बेला लगाएको काँडेतारलाई सरकारले हटाएको थियो। अहिले आएर बिद्रोही ने.क.पा. र उसका भात्री संगठन नेपाल भारत सीमामा काँडेतार लगाउन आबश्यक पर्ने रकम जुटाउने तयारीमा लागेका छन्। यसको शुरुवात उसको प्रबासमा रहेको मोर्चाहरुले गरेका छन्।
कतारमा बस्ने नेपालीहरूको सङ्गठन नेपाली जनप्रगतिशील मोर्चा कतार र अमेरिकामा बस्ने नेपालीहरूको सङ्गठन नेपाल जनप्रगतिशील मोर्चा अमेरिकाले त नेपाल र भारतका बीचमा दोहोरो काँडे तार लगाउन पचास – पचास लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।
नेपाली जनप्रगतिशील मोर्चा कतारका अध्यक्ष जयकिशोर पोद्दारले शुक्रबार विज्ञप्ति जारी गर्दै नेपाल–भारतबीच सीमामा दोहोरो काँडेतार लगाउनका लागि लाग्ने आर्थिक सहयोग जुटाउन सङ्गठनका तर्फबाट पचास लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
पोद्दारले केन्द्रीय समितिका तर्फबाट प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘ हाल विश्व नै कोरोनाको कहरबाट आक्रान्त भएको बेला एकातिर कोरोनासँग लड्न सार्क राष्ट्रहरूले सामूहिक योजना बनाउन जरुरी छ भन्दैछ भने अर्कोतिर भारतले सीमामा आफ्नो मनोमानी दर्साउँदैछ ।’
यस्तो अवस्थामा नेपाल र भारतबीच रहेको खुल्ला सिमानामा काँडेतार लगाउनुपर्ने कुरामा जोड दिदै त्यस बिज्ञप्तिमा, ‘जहाँ जो जुनसुकै पार्टीको वा विचारमा रहे पनि राष्ट्रियता हाम्रो साझा नारा हुनुपर्दछ । यसका लागि सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्तहरू एक हुनुको विकल्प नै नरहेको कुरा उजागर गर्दै माथि उल्लेख गरिएका मागहरूलाई पूरा गर्दै देशको सीमा समस्या समाधान गरेर सधैँका लागि यस्ता प्रहारबाट मुक्त हुन सीमामा दोहोरो काँडेतार लागाइयोस् । त्यसका लागि लाग्ने आर्थिक सहयोग जुटाउन नेपाली जनप्रगतिशील मोर्चा कतारका तर्फबाट नेपाली रुपैयाँ पचास लाख सहयोग गर्ने यसै विज्ञप्तिमार्फत घोषणा गर्दछ ।
सोही विज्ञप्तिमार्फत मोर्चाले पाँचबुँदे माग पनि सरकार समक्ष अघि सारेको छ। उसले सीमाविवादलाई सम्पूर्ण प्रमाणसहित अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गर्न, नेपाली सेनालाई सीमा रक्षाको जिम्मेवारीमा खटाउन, देशको आवश्यकताअनुसार युवा पिँढीलाई सैनिक तालिमसहित सीमा सुरक्षाका लागि तयार पार्न, बिदेसिएका युवकयुवतीहरूलाई स्वदेशमै रोजगारीको दीर्घकालीन व्यवस्था गरी राष्ट्र निर्माणमा समावेश गराउन , सीमा समस्या समाधान गरी सिमानामा डबल काँडेतार लगाउने कार्य तत्काल शुरु गर्न र विदेशबाट स्वदेश फर्कन चाहेका नेपालीहरूलाई उचित व्यवस्थापनसहित तत्काल स्वदेश फर्किने वातावरण बनाउन पनि सरकारसंग माग गरेको छ।
यसैबीच, अमेरिकामा बस्ने नेपालीहरूको सङ्गठन नेपाल जनप्रगतिशील मोर्चा अमेरिकाले पनि नेपाल–भारतबीच सीमामा काँडेतार लगाउन पचास लाख रुपैयाँ दिने भएको छ । मोर्चाका अध्यक्ष विश्वबहादुर शाहले विज्ञप्ति प्रकाशित गरी भारतले नेपालमाथि गरेको थिचोमिचो अन्त्य गर्न र सीमामाथि गरेको अतिक्रमण बन्द गर्न मोर्चाले पचास लाख रुपैयाँ दिने निर्णय गरेको जनाएका हुन् ।
मोर्चाका अध्यक्ष शाहले शनिबार जारी गरेको विज्ञप्तिमा नेपाल-भारतबीचको सिमानामा काँडेतार लगाउनुपर्ने कारणका बारेमा अघो भनेका छन्, ‘भारतले पटकपटक नेपालको सीमा मिच्दै देशको अस्मितामाथि धावा बोल्दै आइरहेको छ । पश्चिममा कालापानीदेखि लिम्पियाधुरासम्मको भूभाग अतिक्रमण गरेर विगत ५७ वर्षदेखि भारतीय सेना तैनाथ गरी नेपालीहरूलाई प्रवेशमा समेत रोक लगाएको छ । दक्षिणपूर्वमा सुस्तासम्मको भूभागमा प्राकृतिक दोहनको फाइदा उठाई नेपालको ठूलो भूभाग मिचेर बसेको छ ।’
मोर्चाको अमेरिका शाखाले पनि सरकारसँग आठबुँदे माग राखेको छ । मागपत्रमा भनिएको छ, ‘१. राष्ट्रिय सीमा सुरक्षाका निम्ति कम्तीमा १ लाख नेपाली सेना नेपालको चारैतिर सीमामा तैनाथ गरी भारतसँग वार्ता होइन, सम्पूर्ण प्रमाण सङ्कलन गरी अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गरियोस् । २. देशको आवश्यकताअनुसार १८ वर्षमाथिका युवा पिँढीलाई सैनिक तालिमसहित सीमा सुरक्षाका लागि तयार गरियोस् । ३. बिदेसिएका युवकयुवतीहरूलाई स्वदेशमै रोजगारीको दीर्घकालीन व्यवस्था गरी राष्ट्र निर्माणमा समावेश गराइयोस् । ४. सीमा समस्या समाधान गरी सिमानामा डबल काँडेतार लगाउने व्यवस्था गरी तत्काल काम सुरु गरियोस् । मिचिएको क्षेत्रलाई भाडामा दिने कुरा झनै गैरजिम्मेवार अभिवयक्ति हो । ५. विदेशबाट स्वदेश फर्कन चाहेका नेपालीहरूलाई उचित व्यवस्थापनसहित तत्काल स्वदेश फर्किने वातावरण बनाइयोस् । ६. भारतीय सेनामा सदैव दोस्रो दर्जामा रहेका तर भारतको सुरक्षामा अग्रपङ्क्तिमा रहेका नेपाली युवाहरूको भर्तीकेन्द्र बन्द गरियोस् । ७. देशभित्र फर्कने युवाहरूलाई पुनः विदेश फर्कन नपर्ने गरी राज्यले दूरगामी योजनासहित व्यवस्थापन गरोस् भनी मोर्चा जोडदार माग गर्दछ । ८. नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई बिनासर्त जेलमुक्त गरियोस् । नेपालको संविधानले दिएको स्वतन्त्रताअनुसार एकीकृत जनक्रान्तिको नीति लिएर वैज्ञानिक समाजवादको नाराको साथमा अगाडि बढेको नेपाल कम्युनिस्ट पार्टीका मागहरूको सम्बोधन गरी उक्त पार्टीमाथिको प्रतिबन्ध अविलम्ब हटाइयोस् । खुला राजनीतिमा प्रतिस्पर्धा गर्ने वातावरण तयार गरियोस् ।’

