नेपाली भुमि छिरेर सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोस्ट भत्काउदै गरेका भारतीयहरुलाई स्थानिय जनता र सशस्त्र प्रहरीले लखेटे

नेपाली भुमि छिरेर सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोस्ट भत्काउदै गरेका भारतीयहरुलाई स्थानिय जनता र सशस्त्र प्रहरीले लखेटे


  • जनसञ्चार डट कम समाचारदाता
  • आइतबार, ४ जेष्ठ २०७७
  • 5.4K
    Shares

झापाकाे भद्रपुर–३ मेचीपारि रहेकाे सशस्त्र प्रहरीकाे अस्थायी सुरक्षा पोस्ट । तस्बिर : पर्वत पाेर्तेल

नेपाली भुमि छिरेर सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोस्ट भत्काउदै गरेका भारतीयहरुलाई सशस्त्र प्रहरी र स्थानीय जनताले लखेटेका छन्।

सुरक्षाकर्मी खाना खान गएको मौका छोपी शनिबार बेलुकी ८ बजेतिर करीब एकसय जनाको संख्यामा आएका भारतीयहरुले झापाको कचनकवल–१ घेराबारीको झन्डुगाउँमा रहेको सशस्त्र प्रहरीको अस्थायी सुरक्षा पोस्ट भत्काएका थिए । ‘सुरक्षाकर्मी खाना खाएर फर्किंदा पोस्ट भत्काइँदै गरेको देखेपछि सशस्त्र प्रहरीको टोलीले एक राउण्ड हवाई फायर गरी भारतीयहरुलाई लखेटेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए।

नेपाली भूमिमा मकैखेती गरेका भारतीयले सिमा सिल गरिएपछि नेपाल आउन नपाएका कारण आक्रमण गरेको हुन सक्ने प्रजिअ रानामगरको अनुमान छ ।

कचनकवल–१ का वडाध्यक्ष लक्ष्मी यादवले बिहारको सुरिभिट्टातर्फबाट आएको समूहले आक्रमण गरेको जानकारी दिए । उनका अनुसार १२५ नम्बर सीमास्तम्भनजिक सशस्त्रको अस्थायी पोस्ट छ । पोस्ट भत्काउन आएका भारतीयको स्थानीयले पनि प्रतिकार गरेको वडाध्यक्ष यादवले बताए ।

घटनाबारे प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले शनिबार राति नै फेसबुकमार्फत भर्त्सना गरेका छन् । सुरक्षाकर्मीमाथि भारतीय नागरिकहरूबाट दोहोरिइरहेको आक्रमण गम्भीर रहेको उनले उल्लेख गरेका छन् ।

यसअघि वैशाख २३ मा पनि भारतीय समूहले झापा गाउँपालिकाको १३१ सीमास्तम्भनजिक खटिएको सशस्त्र प्रहरीको अस्थायी पोस्टमा आक्रमण गरेको थियो । प्रजिअ रानामगरले घटनाबारे आइतवार बिहान भारतीय सुरक्षाकर्मीसँग छलफल हुने जनाए ।

प्रतिक्रिया